काठमाडौं । थुनामा रहेका बिचौलिया ईनम सापकोटाको मोबाइलबाट सर्वोच्च अदालतका न्यायाधीश तथा उच्चपदस्थ अधिकारीहरूसँग भएको भनिएको सम्पर्क र कारोबारसम्बन्धी विवरण सार्वजनिक भएका छन् । सार्वजनिक विवरणमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश हरिप्रसाद फुयाल तथा रास्वपाका सांसद एवं पूर्वएआईजी विश्वराज पोखरेलसमेत जोडिएका छन् ।
सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश फुयालबीच सर्वोच्चमा विचाराधीन एक मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण बिहीबार सार्वजनिक भएको हो । नयाँ पत्रिका दैनिकले फुयाल र सापकोटाबीच भएको भनिएको ह्वाट्सएप संवाद सार्वजनिक गरेको जनाएको छ ।सार्वजनिक विवरणअनुसार सापकोटाले सुरुमा रोहित अग्रवालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको स्क्रिनसट फुयाललाई पठाएका थिए । त्यसपछि उनले ‘गुड मर्निङ’ भन्दै उक्त मुद्दा रोक्न आग्रह गरेका थिए । सापकोटाले ‘यसलाई रोक्नु है हजुर, यसमा प्रधानमन्त्रीको पनि चासो छ, खारेज नै गर्दिनु होला’ भन्ने आशयको सन्देश पठाएको विवरणमा उल्लेख छ ।
त्यसपछि सापकोटाले फुयाललाई ह्वाट्सएपमार्फत फोन गरेको देखिन्छ । फोन नउठेपछि फुयालले जवाफी सन्देश पठाएको विवरण सार्वजनिक भएको छ ।सार्वजनिक संवादअनुसार फुयालले रोहित गुप्तालाई छाड्नुपर्ने आधार रहेको र उनलाई दुई करोड रुपैयाँ धरौटी मागिएको उल्लेख गरेका छन् । त्यस्तै, शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटी मागिएको विषयसमेत उनले सन्देशमा उल्लेख गरेको देखिन्छ । फुयालले गुप्तालाई धरौटीमा छाड्ने आदेशसम्बन्धी सर्वोच्च अदालतको वेबसाइटको लिंकसमेत सापकोटालाई पठाएको विवरणमा उल्लेख छ ।त्यसपछि फुयालले सापकोटालाई अर्को दिन हिमालयन होटलमा भेट्ने प्रस्ताव गरेको र सापकोटाले ‘हुन्छ’ भनेर जवाफ दिएको विवरणसमेत सार्वजनिक भएको छ ।
विशेष अदालतदेखि सर्वोच्चसम्म पुगेको मुद्दा
सम्बन्धित विवाद विशेष अदालत हुँदै सर्वोच्च अदालत पुगेको थियो । सम्पत्ति शुद्धीकरण विभागले दीपक भट्ट समूहविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले साउन २८ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा पुगेको थियो । विशेष अदालतको आदेश उल्ट्याउँदै न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले १७ भदौमा गुप्तालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।
सार्वजनिक विवरणबारे सम्पर्कमा आएका सर्वोच्च अदालतका एक न्यायाधीशले फुयाल र सापकोटाबीच कुराकानी भएको देखिए पनि सापकोटाले भनेअनुसारको काम भएको निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् ।
उनका अनुसार सापकोटाले मुद्दा रोक्न आग्रह गरे पनि संयुक्त इजलासले रिट खारेज नगरेको र दुई करोड रुपैयाँ धरौटी लिएर छाडिएको देखिन्छ । यद्यपि, विवादमा रहेका व्यक्तिसँग बहालवाला न्यायाधीशको सम्पर्क र कुराकानी भएको विषय भने गम्भीर प्रश्नका रूपमा उठेको उनको भनाइ छ ।
प्रधानन्यायाधीश र सांसदको नामसमेत जोडिएको अर्को विवरण
फुयाल र सापकोटाबीचको भनिएको संवाद सार्वजनिक भएसँगै प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा रास्वपाका सांसद एवं पूर्वएआईजी विश्वराज पोखरेलको नाम जोडिएको अर्को विवरण पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।सार्वजनिक कागजातमा अमेरिका र नेपालका बैंक खातामा रकम जम्मा गरिएको भनिएको विवरणमा शर्मा, पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको नाम उल्लेख रहेको दाबी गरिएको छ । जनवरी, नोभेम्बर र डिसेम्बर गरी तीन महिनाको कुल एक लाख ९८ हजार ३ सय ३३ रुपैयाँ रकम उल्लेख भएको विवरण सार्वजनिक भएको छ ।
उक्त विवरणमा रकम अमेरिकामा रहेका सापकोटाका आफन्त नीराजन पाण्डेको नाममा रहेको बैंक अफ अमेरिका खातामा जम्मा गर्नुपर्ने उल्लेख भएको दाबी गरिएको छ । नेपालमा रकम जम्मा गर्नुपर्ने भए सापकोटाकी श्रीमती कविता पाण्डेको सानिमा बैंक खातामा जम्मा गर्नुपर्ने विकल्पसमेत दिइएको भनिएको छ ।सार्वजनिक सन्देशमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबको सरकारी छापसमेत देखिएको दाबी गरिएको छ । तर, यी विवरणको आधिकारिकता, रकमको वास्तविक प्रयोजन तथा सम्बन्धित व्यक्तिहरूसँग यसको प्रत्यक्ष सम्बन्धबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
अनुसन्धानको दायरामा सापकोटाको सम्पर्क
सापकोटालाई ११ असोजमा भारत जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनीसँगको सम्पर्क थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालसम्म देखिएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।सापकोटाको मोबाइल नियन्त्रणमा लिएपछि नेपाल प्रहरीका उच्च अधिकारी, केही न्यायाधीश तथा पूर्वन्यायाधीश, राजनीतिक व्यक्तित्व र कानुन व्यवसायीसँग भएका भनिएका संवादहरू अनुसन्धानमा आएको बताइएको छ ।
सापकोटालाई थुनामै राखेर प्रहरीले उनको सम्पर्क, आर्थिक कारोबार तथा विभिन्न उच्चपदस्थ व्यक्तिसँगको सम्बन्धबारे अनुसन्धान अघि बढाइरहेको छ ।यसैबीच पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि न्यायालयसँग सम्बन्धित विभिन्न विवाद सार्वजनिक भइरहेका छन् । त्यसको केही समयमै सापकोटासमेत पक्राउ परेपछि उनको मोबाइलबाट बाहिरिएका भनिएका संवाद र विवरणले न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा थप प्रश्न उठाएको छ । यद्यपि, सार्वजनिक भएका संवाद, बैंक विवरण तथा अन्य कागजातको आधिकारिकता र त्यसमा उल्लेख भएका व्यक्तिहरूको संलग्नता पुष्टि हुन बाँकी छ । सम्बन्धित व्यक्तिहरूबाट औपचारिक प्रतिक्रिया आएपछि मात्र यी आरोप र विवरणको वास्तविकता थप स्पष्ट हुने देखिन्छ ।