काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्त भिडियो सामग्री प्रसारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका छन् । उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।
वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री बनाइ सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका थिए ।
वीरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याइ थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दुःखद् घडिमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा पीडामाथि थप पीडा हुने गरी त्रास फैलाउन एवं सामाजिक सहिष्णुतामा आघात पु¥याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’
पछिल्लो तथ्यांकअनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाहसहितका समाचार सामग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ ।
यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्युरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्यसमेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पु¥याउने कार्यमा संलग्न उपर अनुसन्धान एवं पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढी क्रियाशील भई कार्य गरिरहेको छ ।
सामाजिक सञ्जालमार्फत अनजानमा पोस्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराइ हटाउन लगाइएको छ ।’
विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचारलगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिबद्ध छ ।