काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ।राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बरबहादुर तामाङले उपसभामुखसमक्ष पत्र दर्ता गर्दै पार्टीको निर्णयविपरीत ह्विप उल्लंघन गरेको भन्दै भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई पदमुक्त गर्न माग गरेका हुन्।
बुधबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता भएको राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। उनका अनुसार पार्टीले यसअघि नै कारबाही प्रक्रिया अघि बढाएको थियो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने क्रममा राप्रपाले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। त्यसका लागि संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित भई सरकारको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।तर, ह्विप उल्लंघन गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित भएको आरोपमा पाँच सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको राप्रपाले जनाएको छ।
पार्टीभित्र मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागी हुने विषयमा विवाद देखिएको थियो। प्रदेशसभाका निर्वतमान सभामुखसमेत रहेका भुवन पाठकसहित पाँच सांसद सरकारमा सहभागी नहुने पक्षमा थिए।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार चलेका उनीहरूलाई संसदीय दलका नेता उद्धव थापाले पार्टीको निर्णयविपरीत गएको भन्दै कारबाही प्रक्रिया अघि बढाएका हुन्।
भदौ १८ गते बसेको राप्रपा संसदीय दलको बैठकले पाँचै सांसदलाई ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। तर, तोकिएको समयभित्र कुनै पनि सांसदले स्पष्टीकरण नदिएको दलका नेता थापाले बताए।स्पष्टीकरणसमेत नदिएपछि पार्टीको विधान तथा संसदीय दलको विधान, २०७९ बमोजिम उनीहरूलाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको थापाको भनाइ छ। प्रदेशसभा सचिवालयमा दर्ता गरिएको पत्रमा ‘ह्विप उल्लंघन गर्ने प्रदेशसभा सदस्यहरूलाई हटाई प्रदेशसभालाई जानकारी गराउन’ सभामुखसमक्ष माग गरिएको छ।