Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘लकडाउन’को सदुपयोग गर्दै ग्रामीण क्षेत्रका युवा तरकारी खेतीमा

‘लकडाउन’को सदुपयोग गर्दै ग्रामीण क्षेत्रका युवा तरकारी खेतीमा


झापा, वैशाख १९
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै ग्रामीण क्षेत्रका युवा तरकारी खेतीमा लागेका छन् । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरका युवा दीपक पोखरेल यतिबेला सामाजिक दूरी कायम राख्दै आफ्नो व्यक्तिगत लगानीमा व्यावसायिक तरकारी खेतीतर्फ लागेका छन् ।

तीन महिना अघिदेखि अन्य छ जनालाई रोजगारसमेत दिँदै आएका पोखरेलको तरकारी खेतीमा हाल करेला, काँक्रा, घिरौँला, भिन्डी, बैगुन र टमाटर उत्पादन हुन थालेको छ । हरेक दिन स्थानीयवासीको घर दैलोमा ताजा तरकारी पु-याउने कार्यमा व्यस्त देखिँदै आएका पोखरेल स्थानीय युवा माझ राम्रो उदाहरण बनेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सामान्य चर्चा हुन थालेकै समयबाट आफ्नो एक बिघा पाँच कठ्ठा जमीनमा तरकारी खेती सुरु गरेका पोखरेल हाल व्यावसायिकरूपमा तरकारी उत्पादन गर्ने एक सफल कृषकको रूपमा परिचित हुन थालेका छन् ।

आसपासका स्थानीयवासीले बारीबाटै तरकारी खरिद गर्दै आए पनि कोरोनाका कारण बन्दाबन्दी भएपछि वर्तमान असहज परिस्थितिमा उत्पादन भएका तरकारी पोखरेलले आफैँ पनि घर दैलोमा पु-याउने गरेका छन् । निजी लगानीमा तरकारी खेती गर्न थालेका पोखरेलले अरु तीन बिघा जमीन भाडामा लिएर त्यहाँ बोडी, मकै र घाँस लगाएका छन् । विभिन्न कीटनाशक औषधिका साथै रासायनिक मलका कारण दिनप्रतिदिन अम्लीयपन बढ्दै गएकाले रुखो बन्दै गएको जमीनमा पोेखरेलले प्राङ्गारिक पद्धतिबाट तरकारी खेती गर्ने प्रयास गरेका छन् ।

तरकारी खेती गरेको ठाउँ दुर्गापुर आसपासमा जमीनबाहेक हालसम्म तीन लाख ५० हजार खर्च भइसकेको उनले बताए । प्रारम्भिक चरणमा नै सब्जीमा देखिएको राम्रो उत्पादनले आशा जगाएको भन्दै पोखरेलले स्वदेशमै केही गर्ने जोश जाँगरका साथ आफू अघि बढेको जानकारी दिए । विगत एक दशकदेखि स्थानीयस्तरमा घर घडेरीको किनबेचमा लागेका पोखरेलले १४ वर्षअघि वैदेशिक रोजगारका क्रममा साउदी र कतारमा दुई वर्षको अनुभव बटुलेका छन् । विदेशमा श्रम गरेको आठ घण्टाको समय स्वदेशमै खर्च गर्ने हो भने परिवारका साथ ठूलो उपलब्धि हात पर्न सक्ने भन्दै उनले आफ्नै भूमिमा भविष्य खोज्न सम्पूर्ण युवाहरूलाई अनुरोध गरेका छन् ।

परम्परागतरूपमा चलिरहेको कृषि प्रणालीमा केही सुधार गर्न सकेमा स्थानीय युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने कुरामा आफूले अनुभव बटुलेको पोखरेलले बताए । पछिल्लो समय जनप्रतिनिधिहरूले स्थानीय तहको नेतृत्व सम्हालेयता कृषि क्षेत्रमा पनि केही सुधारको सङ्केत देखिएपछि अधिकांश युवाहरू कृषि व्यवसायमा आकर्षित हुन थालेका छन् । सोही क्रममा जीवनमै पहिलो पटक कृषिमा केही परिवर्तन ल्याउने उद्देश्यका साथ अघि बढेका युवा पोखरेल जस्तै अन्य व्यावसायिकरूपमा लगानी भएका उत्पादनले कोरोना भाइरसका कारण उचित बजार पाउन नसक्दा यतिबेला कृषकहरू समस्यामा परेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x