Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचिया पसल पनि कम्पनी ?

चिया पसल पनि कम्पनी ?


काठमाडौं । विकसित मुलुकहरूमा जथाभावी कम्पनी दर्ता गरिँदैन । व्यवसायको आकार हेरेर कम्पनी, मझौला व्यवसाय र साना व्यवसाय दर्ताका लागि अलग–अलग निकायहरू तोकिएका हुन्छन् । सोहीअनुसार कम्पनी, उद्योग र व्यवसाय दर्ता हुन्छन् । हुन त हाम्रो मुलुकमा पनि कम्पनी दर्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत कम्पनी रजिस्ट्रारको कार्यालय छ जुन पहिले उद्योग विभागको एउटा शाखाको रूपमा थियो । कम्पनीहरूको संख्या बढ्न थालेपछि अधिकारसम्पन्न विभागको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयको स्थापना भएको हो । व्यापार व्यवसाय दर्ताका लागि आकार हेरेर उद्योग विभाग, वाणिज्य विभाग, वाणिज्य कार्यालय र साना उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मेवारी दिइएको छ । देश संघीयतामा गएपछि भने स्थानीय निकायलाई पनि जिल्ला वा स्थानीयस्तरमा व्यवसाय दर्ता गर्ने जिम्मेवारी तोकिएको छ । कम्पनी दर्ता गरेपश्चात् सम्बन्धित विभाग वा कार्यालयबाट इजाजत पनि लिनुपर्छ । जस्तै– कलकारखाना वा ठूला उद्योगको इजाजतका लागि उद्योग विभागमा जानुपर्छ भने साना उद्योगका इजाजतका लागि घरेलु कार्यालयमा जानुपर्छ । त्यस्तै, पर्यटनसँग सम्बन्धित कम्पनीहरूले पर्यटन विभागबाट इजाजत लिएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्छ । ठूलो आकारमा कारोबार गर्ने व्यापारिक कम्पनीहरूले वाणिज्य विभागबाट इजाजत लिनुपर्ने वा वाणिज्य दर्ता गर्नुपर्ने हुन्छ । निजी अस्पतालहरूले स्वास्थ्य विभागबाट बेडको संख्या खुलाएर इजाजत लिनुपर्छ । त्यस्तै, निजी कलेज र स्कुलहरूले विश्वविद्यालयहरूबाट सम्बन्धन प्राप्त गर्नैपर्छ । कन्स्ट्रक्सन कम्पनी दर्ता भइसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको ठेकेदार वर्गीकरण शाखामा गएर इजाजत लिनुपर्ने हुन्छ ।

अन्य निकायहरूमा दर्ता भएका प्राइभेट फर्म वा साझेदार फर्मलाई कम्पनीमा परिणत गर्न पनि सकिन्छ । जसका लागि प्रबन्धपत्र तथा नियमावली तयार गरी प्रचलित नियमानुसारको शुल्क वा दस्तुरसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्छ ।

नेपालमा केही वर्ष अघिदेखि मुनाफा वितरण नगर्ने कम्पनीहरू पनि दर्ता हुन थालेका छन् । यसअन्तर्गत च्याटिटेबल ट्रस्टलगायत अन्य कम्पनीहरू दर्ता हुने गरेको पाइन्छ । यो शुद्ध सेवामूलक हुन्छ । कम्पनी सञ्चालनबाट प्राप्त मुनाफा लाभांशको रूपमा सञ्चालक तथा कर्मचारीलाई वितरण गर्न पाइँदैन । कम्पनीको अभिवृद्धिमा प्रयोग गर्न पाइन्छ । मुनाफामूलक कम्पनीको तुलनामा यस प्रकृतिका कम्पनीहरू ज्यादै न्यून संख्यामा दर्ता हुने गर्छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर अभिलेख हेरियो भने जसले पनि थाहा पाउनुहुनेछ कि चिया नास्ता खुवाउने सामान्य होटल पनि नामको पछाडि प्रालिको पुच्छर झुण्ड्याएको हुन्छ । मासु पसल, मःम पसल पनि कम्पनीमा दर्ता भएको पाइन्छ । साना खालका सिलाई पसल वा टेलरिङ पनि कम्पनीमा दर्ता हुँदा संस्थापकहरू धेरै समस्यामा परेका छन् । साना आकारका व्यवसाय दर्ता गर्न घरेलु कार्यालयतिर हिँडेका साना व्यवसायका सञ्चालक उद्योग परिसरको गेटबाट छिर्नेबित्तिकै कम्पनी रजिस्ट्रारको कार्यालयको गेटनिर लेखनदासहरूले उनीहरूको व्यवसाय कम्पनीमा प्रालिको रूपमा दर्ता गरिदिने गरेको पाइन्छ । जुन व्यवसाय घरेलुमा दर्ता गर्न सुहाउने खालको हुन्छ ती व्यवसायीहरू कम्पनीमा होमिन पुग्छन् र व्यहोर्ने गर्छन् । विभिन्न आर्थिक समस्या वा विभिन्न कठिनाइहरू घरेलु वा वाणिज्यमा न्यून शुल्कमा फर्म दर्ता हुनेमा अज्ञानतावश कम्पनीमा दर्ता हुँदा व्यवसायीहरूले धेरै समस्या खेप्नु परिरहेको छ । कम्पनीमा समयमा अद्यावधिक नहुँदा धेरै जरिवानाको शिकार हुनुपरेको देखिन्छ, जुन घरेलु वा वाणिज्य कार्यालयमा दर्ता गरेको फर्मलाई त्यति आर्थिक भार पर्दैन ।

कम्पनीमा दर्ता भएर सम्बन्धित निकायबाट प्रकृति हेरी सम्बन्धन तथा इजाजत वा अनुमति लिएपछि कारोबार हेरी भ्याट तथा प्यानमा दर्ता गरेको हुनुपर्छ । कम्पनी दर्ता, फर्म दर्ता, उद्योग दर्ताका प्रमाणपत्रका साथै भ्याट वा प्यान दर्ता गरेको प्रमाणपत्र कम्पनीको रजिस्ट्रार कार्यालय वा व्यवसाय रहेको स्थानमा सबैले देख्ने गरी अनिवार्यरूपमा भित्तामा टाँस्नुपर्छ । साना लगानीमा खुलेको खाजा पसल, कस्मेटिक, स्टेसनरी, खेलौना तथा किराना व्यवसाय तथा उद्योग पाँच लाखभन्दा कम लगानीमा खोलिएको छ भने त्यसलाई वडा कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएर चलाउन सकिन्छ ।

दुर्गम जिल्लामा सञ्चालित कम्पनीमा दर्ता भएका निजी विद्यालयहरू सुरुसुरुमा सय जना विद्यार्थी हुँदा सालाखाला एक हजार रुपैयाँको दरले वार्षिक शुल्क १२ लाख आम्दानी हुँदा कम्तीमा त्यति नै मात्रामा शिक्षकहरूलाई तलब भुक्तानी गर्नुपर्ने हुन्छ । कम्पनी दर्तापश्चात् विद्यालयले वार्षिकरूपमा समय–समयमा कम्पनीमा अद्यावधिक गर्ने सम्बन्धमा दर्ता गरिदिने सहजकर्ताले सञ्चालक वा सेयरधनीलाई जानकारी नदिँदा सञ्चालक वा सेयरधनीले स्कुलको तर्फबाट लाखौँ जरिवाना तिर्नुपरेको अवस्था पनि देखिन्छ । सेयरधनी सञ्चालकहरूले पनि आफूले लापरबाही गरेको देखिन्छ । कमसेकम दर्ता गरिदिन सघाउने सहजकर्तालाई बेलाबेलामा सम्पर्क गर्नुपर्नेमा गरिँदैन र कम्पनी रजिस्ट्रारको कार्यालयमा सोधपुछ पनि गरिँदैन । जसले गर्दा अद्यावधिकको काम समयमा हुँदा ठूलो आर्थिक भार व्यहोर्नुपरेको देखिन्छ । हुन त समय–समयमा कम्पनी रजिस्ट्रारको कार्यालयले जरिवाना छुटको व्यवस्था नगरेको भने होइन । तैपनि कतिपय सेयरधनी वा सञ्चालकहरूले जरिवाना छुटको पत्तो नपाउँदा विशेषगरी मोफसलका निजी विद्यालयका संस्थापकहरू अवसरबाट बञ्चित हुनुपरेको पाइन्छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय छेउछाउमा सहजकर्ताको रूपमा बसिराख्ने लेखनदास तथा वकिलहरूले व्यवसाय गर्न चाहनेहरूलाई यो पनि प्रष्टसँग बुझाइदिनुपर्छ कि घरेलुमा दर्ता गर्दा के हुन्छ र कम्पनीमा दर्ता गर्दा के हुन्छ ? साथै, फर्मको रूपमा दर्ता भएमा सञ्चालक समितिको जरुरत पर्दैन जुन कम्पनीमा दर्ता भएको कम्पनीको पर्छ भनेर पनि प्रष्ट पारिदिएमा उद्यमी वा व्यवसायीहरू ढुक्क हुने थिए । कुन आकारका व्यवसाय कुन निकायमा दर्ता गर्दा उपयुक्त हुन्छ भनेर सञ्चालकहरू विश्वस्त हुने थिए । थोरै दस्तुर तिरेर फर्म दर्ता हुन्छ भने कम्पनी दर्ता गर्दा ठूलो रकम दस्तुर बुझाउनुपर्ने हुन्छ ।

प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक दस्तुरः
१. रु १,००,०००÷– सम्मको अधिकृत पुँजी भएको रु. १,०००÷–
२. रु. १,००,००१÷– देखि रु ५,००,०००÷– अधिकृत पुँजी भएको रु. ४,५००÷–
३. रु. ५,००,००१÷– देखि रु २५,००,०००÷– अधिकृत पुँजी भएको रु. ९,५००÷–
४. रु. २५,००,००१÷– देखि रु १,००,००,०००÷– अधिकृत पुँजी भएको रु. १६,०००÷–
५. रु. १,००,००,००१÷– देखि रु २,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. १९,०००÷–
६. रु. २,००,००,००१÷– देखि रु ३,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. २२,०००÷–
७. रु. ३,००,००,००१÷– देखि रु. ४,००,००,०००÷– अधिकृत पुँजी भएको रु. २५,०००÷–
८. रु. ४,००,००,००१÷– देखि
रु. ५,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. २८,०००÷–
९. रु. ५,००,००,००१÷– देखि रु ६,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. ३१,०००÷–
१०. रु. ६,००,००,००१÷– देखि रु ७,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. ३४,०००÷–
११. रु. ७,००,००,००१÷– देखि रु ८,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. ३७,०००÷–
१२. रु. ८,००,००,००१÷– देखि रु ९,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. ४०,०००÷–
१३. रु. ९,००,००,००१÷– देखि रु १०,००,००,०००÷– अधिकृत पुँजी भएको
रु. ४३,०००÷–
१४. रु. १०,००,००,०००÷– भन्दामाथि प्रति एक लाखको रु ३०÷– का दरले दस्तुर लाग्नेछ ।

समग्रमा भन्नुपर्दा व्यवसायको योजना बनाइसकेपछि कहाँ दर्ता गर्ने र कुन निकायमा दर्ता गर्दा राज्यबाट के सुविधा प्राप्त हुन्छ भन्ने विषयमा जानकारीसम्बन्धी विषयहरूका बारेमा अनुभवी र सम्बन्धित विषयमा ज्ञान हासिल गरेका परामर्शदातासँग उचित सल्लाह लिनु आवश्यक हुन्छ ।

अरूले यो व्यवसाय गरेर धेरै धनलाभ गर्यो, म पनि त्यस्तै गर्छु भनेर नक्कल गर्न खोजियो भने धोका हुन सक्छ । सकेसम्म नौलो र सम्भावना बोकेको व्यवसायको परिकल्पना गरेर सही निर्णय गरेर व्यवसाय खोलेमा धोका खाइँदैन । साना उद्योग तथा व्यवसाय दर्ता गर्न प्रालिको रूप धारण गर्नैपर्छ भन्ने छैन । पायक पर्ने वाणिज्य कार्यालय तथा घरेलु कार्यालयमा गएर पनि आफ्नो अनुकूलको व्यवसाय वा उद्योग दर्ता गर्न सकिन्छ । साना आकारका व्यवसाय दर्ता गर्नुछ भने स्थानीय निकायका वडामा पनि दर्ता गरेर प्यान नम्बर लिएर व्यवसाय सञ्चालन गर्नु राम्रो हुन्छ । भ्याट वा प्यान नम्बर नलिएको व्यवसाय अवैध मानिन्छ । त्यसैले कुनै पनि उद्योग तथा व्यवसाय करको दायरमा आउनुपर्नेहुन्छ। कर तिर्नु कुनै पनि व्यवसायीको कर्तव्य हुन आउँछ । जुन राज्यले गौरवको रूपमा लिने गर्छ ।

चिया र खाजा पसललगायत सामान्यभन्दा पनि सामान्य व्यवसाय कम्पनीमा दर्ता हुनु दुःखद् कुरा हो । यसका लागि सञ्चालक सचेत हुनु आवश्यक छ र सम्बन्धित निकायले पनि उनीहरूलाई विकल्पका विषयमा स्पष्ट कुरा भनिदिनुपर्ने हुन्छ । राजस्व बढ्छ न्दैमा सरकारी अधिकारीहरूले व्यवसायीहरूलाई अनावश्यक भार पार्नुहुँदैन ।

देशको अर्थतन्त्रमा नकारात्मक असर परेसँगै केही वर्षयता उद्योगी तथा व्यवसायीहरूमा निराशा छाउन थालेको आभाष पाइन्छ । यस्तो निराशा हटाउन प्रयत्न गर्ने सरकारको भूमिका अकाट्य छ । त्यसका लागि सरकारमा बस्नेहरूको इच्छाशक्ति प्रष्फुटन भई तदनुरूपमा कार्यान्वयन हुनु नित्तान्त आवश्यक छ । देशको अर्थतन्त्र केही वर्षयता गम्भीर मोडमा गुज्रिएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया