Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिझापाको एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

झापाको एउटै पालिकामा २५ सय बिघामा तोरी खेती


झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन(महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो ।

प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘अरु बालीमा जस्तो झन्झट छैन । मूल्य पनि राम्रो छ ।’ गत वर्ष प्रतिमन छ हजार रुपैयाँमा तोरी बिक्री भएको उनले बताए । राससले जनाएनुसार यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ ।

तोरी मिल सञ्चालन गर्दै सहकारी

यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । उनले भने, ‘किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौं । सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बीउ पनि उपलब्ध गराउने गरेका छौं ।’ कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाई छ ।

सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९/८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि १५ लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ । उनले भने, ‘खाद्य गुणस्तरको अनुमति लिएपछि ब्राण्डिङ गरेर बजारमा लान्छौं ।’

सहकारीले हाल खुद्रा खरिद गर्नेलाई चार सय २० रुपैयाँ प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटरभन्दा बढी खरिद गर्नेलाई चार सय रुपैयाँ प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताइन् । बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा तेल बिक्रीका लागि राखिएको उनको भनाइ छ ।

हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

सहकारीले स्थानीयस्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन् । सहकारीले प्याकेजिङ गरेर बजारमा पुर्याउन तयारीसमेत गरिरहेको छ । सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रुपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको बताइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया