Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण जरुरी’

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण जरुरी’


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण जरुरी भएको बताएकी छन् । त्यसका लागि नीतिगत रुपमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनले बताइन् ।

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । कृषि क्षेत्रको विकास, कृषि पेशाको सम्मान एवं कृषकलाई प्रोत्साहन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च परिमाणमा कृषि उपज आयात भइरहेको भन्दै कृषिको आधुनिकीकरण गर्दै बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘कृषि वस्तुहरूमा समेत हाम्रो परनिर्भर बढेको छ । परनिर्भरता घटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ’, उनले भने, ‘आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अबलम्बन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र खपत बढाउन आवश्यक छ ।’ उनले कृषि पेसालाई सम्मान गर्न, कृषकलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति अवलम्बन गर्न आग्रह गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिँदै कृषकले दुःख गरेर उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताए । परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्माले सम्मेलनमा महिलामुखी कृषि यान्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताइन् । कृषिको महत्व बुझाउन र दिगो भएर लाग्न यो सम्मेलनले उत्प्रेरित गर्ने विश्वास लिइएको शर्माको भनाइ छ । ‘अहिले कृषि सरकारको प्राथमिकतामा नपरेको र कृषकलाई पनि हिनताबोध हुने क्षेत्र परेको छ । कृषकलाई प्रोत्साहन गर्न यो सम्मेलन गरेका हौं’, उनले भनिन् ।

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले ठूलो मात्रामा कृषकको संख्या चितवनमा रहेको र भरतपुर पर्यटन वर्ष पनि भएकाले यो कृषि सम्मेलन महत्वपूर्ण भएको बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विश्वको कृषि उत्पादनको औषत उत्पादन पनि नेपालले नभेटेको बताए । नीति निर्माणमा संलग्नहरूले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए नेपालको कृषिले राम्रो फड्को मार्ने उनको भनाइ थियो । सम्मेलनको प्रमुख वक्ता डा शोभा पौडेललले कृषि पेसामा महिलाको संलग्नता धेरै भए पनि प्रोत्साहन नगरिएको बताइन् ।

सम्मेलनको मुख्य नारा कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलताको प्रवर्द्धन रहेको छ । आइतबारसम्म चल्ने सम्मेलनमा कृषि प्रदर्शनी समेत गरिएको छ । सम्मेलनले कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझाव पेस गर्ने बताइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया