Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषियुवाहरूलाई व्यावसायिक कृषिमा प्रेरित गर्दै जिरी प्राविधिक शिक्षालय

युवाहरूलाई व्यावसायिक कृषिमा प्रेरित गर्दै जिरी प्राविधिक शिक्षालय


दोलखा । देशकै पुरानो दोलखाको जिरीस्थित जिरी प्राविधिक शिक्षालयले विद्यार्थीहरूलाई पढाइसँगै तरकारी खेती र पशुपालनमा समेत लगाउने गरेको छ । व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्दै शिक्षालयले बालीविज्ञान विषयमा अध्यनरत विद्यार्थीलाई शिक्षालयभित्रकै खाली जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती तथा माछा र पशुपालन गर्न सिकाउँदै आएको हो ।

जिरी प्राविधिक शिक्षालय प्रमुख कर्म शेर्पाले विद्यार्थीलाई अध्ययनसँगै सिपको विकास गराउन व्यावसायिक खेतीमा जोडेको बताए । उनका अनुसार विद्यार्थीहरूलाई समूहमा विभाजन गरेर च्याउ खेती, लहरे बालीको खेती, सागसब्जी, गोलभेँडा, काँक्रो, काउली, आलु तथा फलफूललगायतको खेतीमा लगाइएको छ । त्यस्तै, पशु–विज्ञानतर्फका विद्यार्थीलाई व्यावसायिक गाई पालन, बंगुर, बाख्रा, कुखुरा तथा माछापालनमा लगाइएको शिक्षालयका पशुस्वास्थ्य प्राविधिक मधुसुदन गौतमले बताए । कृषितर्फका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपालन गरेर राम्रो आम्दानी समेत गर्ने गरेका छन् ।

शिक्षालयमा बालीविज्ञान विषयमा अध्ययन गर्ने दोस्रो र तेस्रो वर्षका विद्यार्थीलाई प्रयोगात्मक सिपको विकाससँगै व्यावसायिक बन्नका लागि खेती तथा पशुपालनमै केन्द्रित गराउने गरेको गौतमले बताए । यस वर्ष शिक्षालयका विद्यार्थीले पहिलो सिजनको तरकारी उत्पादन गर्न सुरु गरिसकेका छन् । यस्तै, एक सय २० केजी पराले तथा कन्या जातको च्याउ उत्पादन गर्ने शिक्षालयले जनाएको छ । शिक्षालयभित्र छ वटा उन्नत जातका गाई रहेका छन् भने चार वटा पोखरीमा करिब सात हजार माछा पालन गरिएको छ । यस्तै, बंगुर, बाख्रा तथा कुखुरा समेत पालन गर्ने गरिएको छ । पछिल्लो वर्षहरूमा विद्यार्थी घट्दै गएका कारण शिक्षालयले परम्परागत शिक्षण सिकाईलाई भन्दा प्रयोगात्मक र व्यावहारिक शिक्षालाई जोड दिएको शिक्षालय प्रमुख शेर्पा बताउँछन् । आफूहरूले जमिन तयार पार्ने, बीउ जमाउने, रोग नियन्त्रण गर्नेदेखि फल टिप्ने र बजार लगेर बेच्नेसम्मका शिक्षा विद्यार्थीलाई दिने गरेको शेर्पाले बताए । उनका अनुसार कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले प्रयोगात्मक अभ्यास गराइन्छ ।

‘विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौं । यहाँबाट पढेर गएका मेहनत गर्ने धेरैजसो विद्यार्थी आत्मनिर्भर छन् । लोभलाग्दो कमाइ गरिरहेका छन्’, उनले भने । यस शिक्षालयमा करिब पाँच सय विद्यार्थी अहिले पनि नियमित अध्ययन गर्दै आएका छन् । शिक्षालयमा गत वर्षहरूमा १८ महिने जेटिए अन्तर्गतमा कृषि, पशु स्वास्थ्य, निर्माण तथा स्वास्थ्यको पठनपाठन हुने गरे पनि यस वर्षदेखि भने तल्लो तहको पठनपाठन बन्द हुन पुगेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया