Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअर्बौं रुपैयाँ बचत रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीका सञ्चालकहरू फरार

अर्बौं रुपैयाँ बचत रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीका सञ्चालकहरू फरार


काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेर सञ्चालनमा रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालकहरू संस्थामा निक्षेप रहेको करिब दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेर फरार भएका छन् ।

अर्बौँ रकम हिनामिना गरेर सञ्चालकहरू फरार भएसँगै पीडितहरूले प्रहरी वृत्त बौद्ध, बागमती प्रदेशअन्तर्गतको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलगायतमा उजुरी गरेका छन् । प्रदेशको सहकारी मन्त्रालयमा ४८ जनाले दिएको उजुरीको पत्र लेख्दै मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई आवश्यक अनुसन्धान र कारबाही गर्न भन्दै पत्र लेखेको थियो भने परिसरले बौद्ध प्रहरी बिटलाई सोको अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

पीडितहरूको उजुरीपछि प्रहरी वृत्त बौद्धले संस्थाका सात जना सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गरी उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारीलाई पक्राउ गरी थुनामा राखेको छ भने संस्थाका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, सदस्यहरू शेखर बस्नेत र राजकुमार श्रेष्ठ फरार छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने, सदस्यहरू प्रकाश धिमिरे र शुभद्रा चौलागाईँ समेतको खोजी भइरहेको प्रहरीले जनाइएको छ ।

पक्राउ गरेर थुनामा रहेका मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक सदस्य शरदकुमार अधिकारी निलरत्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् । उनले सो सहकारीमा समेत ठूलो मात्रामा आर्थिक अनियमितता गरेको स्रोतले दाबी गरेको छ ।

करिब ११ हजार निक्षेप सदस्य रहेको सहकारीले करिब दुई अर्ब २६ करोड रुपैयाँ हिनामिना गरेको पीडितहरूको भनाइ छ ।
सहकारीले काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा आफ्नो शाखाहरू खोली कारोबार गर्दै आएकोका विगत १५ महिनायता सहकारीको शाखाहरू बन्द रहेका छन् भने सञ्चालकहरू फरार भएका छन् ।

एस रिजाल एन्ड एसोसिएट्सबाट आर्थिक वर्ष २०७८÷०७९ मा अडिट गरेर त्यसयता फरार रहेका सहकारीका सञ्चालकहरूले केही पीडितहरूलाई भने आफ्ना मान्छेहरूको नाममा विभिन्न ठाउँमा किनेको जग्गाहरू पैसा थपेर दिएको र अन्यलाई समेत सोहीबमोजिम गर्न भन्दै आएका छन् ।

सहकारीले बचत गरेको पैसा दिनुको साटो पीडितहरूबाट अझै पैसा असुल्नकै लागि सहकारीले नै गरेको मूल्याङ्कनमा जग्गा लिनुपर्ने र पैसा थपेर जग्गा नलिए बचत रहेको पैसा फिर्ता हुने ग्यारेन्टी गर्न नसकिने भन्दै धम्काउँदै आएको पीडितहरूले बताएका छन् ।

विश्वस्त स्रोतका अनुसार सहकारीका सञ्चालकहरू र विशेषगरी सहकारीका अध्यक्ष महाशंकर रेग्मीले सहकारीको पैसाले सुनको तस्करी गर्दै आएका थिए र सो व्यवसायमा समेत सहकारीको करोडौँ पैसा डुबाएका छन् ।

स्रोतका अनुसार केही समयअघि मात्र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई आईजीपी बन्नकै लागि दुई करोड आर्थिक सहयोग गरेको भनेर चर्चामा आएका सुन तस्करीको छानबिनमा परेका जीवन चलाउनेसँग मिलेर संस्थाका अध्यक्ष महाशंकर रेग्मीले व्यावसायिक साझेदार गर्नेगरेका छन् ।

अध्यक्ष रेग्मीले जितेन्द्र सैनी नाम गरेका मारवाडीको श्रीमती बताउने अमृता श्रेष्ठ र जीवन चलाउनेसँग मिलेर गोल्फुटारमा एसटीजी नामक खाद्य स्टोरमा ४० करोडभन्दा बढी लगानी गरेको पाइएको छ ।

त्यस्तै अध्यक्ष रेग्मीले मारवाडी सैनीको श्रीमती अमृता श्रेष्ठसँग मिलेर काठमाडौ चन्द्रागरि साबिक दहचोक खहरेमा करिब १६ रोपनी जग्गा संयुक्त नाममा किनेको पाइएको छ ।

मेगा ड्रिम सहकारीका सञ्चालकहरू फरार भएपछि संस्थाको उत्तराधिकारी बताउने तत्कालीन लक्ष्य राइज बचत तथा ऋण सहकारी संस्थाका सीईओ तिलक कार्कीले फरार रहेका संस्थाका अध्यक्ष तथा सञ्चालकहरूसँग परामर्श गरी पीडितहरूको पक्षमा काम गरिरहेकोे बताए ।

‘संस्थामा कुनै पनि पद र निक्षेप सदस्य समेत नरहेको तपाईँले कुन उद्देश्यले सहकारीको उत्तराधिकारीको रूपमा काम गर्नुभएको हो ?’ भन्ने आर्थिक दैनिकको प्रश्नमा कार्कीले आफ्नो पुरानो साथी भएको नाताले सहयोग गरेको बताए । स्रोतका अनुसार सर्वसाधारणहरूको पैसा फिर्ता गर्न नसकेर बन्द भएको सहकारीको काम गर्ने अख्तियारी नै लिएर हिँडेका कार्कीको गतिविधि शंकास्पद रहेको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजिरहेको सहकारीका फरार व्यक्तिसँग निरन्तर फोन सम्पर्क भइरहेको बताउने तिलक कार्कीले सञ्चालकहरूले आफ्ना विभिन्न व्यक्तिको नाममा किनेको जग्गा पीडितहरूलाई नै भनेबमोजिमको पैसा थपेर लिन र नलिए सहकारीमा जम्मा भएको निक्षेप समेत फिर्ता नहुने भन्दै धम्की दिनेगरेको आर्थिक दैनिकसँगको टेलिफोन संवादमा बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x