Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनेपालका सहकारीले आर्थिक सङ्कटको सामना गरिरहेको छ: प्रधानमन्त्री

नेपालका सहकारीले आर्थिक सङ्कटको सामना गरिरहेको छ: प्रधानमन्त्री


काठमाडौँ । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । कोभिड महामारीलगायत विश्वव्यापीरूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीले सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताए ।

प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए ।सरकारले यस वर्षको बजेटमा सहकारी क्षेत्रको व्यवस्थापनका लागि कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरेको उल्लेख गरे

प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने लगायतका व्यवस्था बजेटमा गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीले सङ्कटग्रस्त सहकारीको अवस्थाको अध्ययन गर्नुका साथै सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक सुझाव समितिले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । उनले समस्याग्रस्त सहकारीको अवस्था, बचतकर्ताको निक्षेप अपचलन भए नभएको अध्ययन, दोषीमाथि कारबाहीको सिफारिस र समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न अधिकारसम्पन्न संसदीय समिति गठन गरिएको बताए ।

बजेटमा अगाडि सारिएका कार्यक्रम कार्यान्वयनका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखिने बताए ।

पछिल्लो समय नेपालको सहकारी आन्दोलनले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले समस्या देखाएर आन्दोलनलाई निस्तेज पार्ने काम रोक्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, पार्वती थापालगायतले सहकारीको महत्व र यसको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्ने बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x