काठमाडौं, सरकारले लक्षित वर्ग तथा क्षेत्रलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रममा २०८३ साउन मसान्तसम्म ४३ हजारभन्दा बढी ऋणीले कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म विभिन्न शीर्षकअन्तर्गत ४३ हजार ५१ ऋणीले कुल ६५ अर्ब ४० करोड ३३ लाख ३६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत गराएका हुन् ।
स्वीकृत कर्जामध्ये ३२ अर्ब ९७ करोड नौ लाख १९ हजार रुपैयाँबराबरको कर्जा लगानी भई बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सो अवधिसम्म सहुलियतपूर्ण कर्जाका लागि सरकारले ३९ अर्ब २७ करोड रुपैयाँभन्दा बढी ब्याज अनुदान प्रवाह गरेको छ । सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा महिला उद्यमशील कर्जामा देखिएको छ । साउन मसान्तसम्म २४ हजार एक सय ७८ जना महिला उद्यमीले २४ अर्ब ३८ करोड ७५ लाख ७९ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका छन् । त्यसमध्ये पाँच अर्ब ७३ करोड ८३ लाख ९२ हजार रुपैयाँ बक्यौता रहेको छ । यसैगरी व्यवसायिक कृषि तथा पशुपन्छी कर्जातर्फ १८ हजार ४२ ऋणीले ४० अर्ब १८ करोड १७ लाख ८३ हजार रुपैयाँबराबरको कर्जा स्वीकृत गराएका छन् । यस शीर्षकमा २६ अर्ब ७ करोड ६४ लाख २७ हजार रुपैयाँ बक्यौता रहेको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार दलित समुदाय व्यवसाय विकास कर्जातर्फ दुई सय ३९ ऋणीले १६ करोड ४७ लाख ३४ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका छन् भने पाँच करोड ७० लाख ४६ हजार रुपैयाँ बक्यौता रहेको छ । शिक्षित युवा स्वरोजगार कर्जातर्फ ७१ ऋणीले दुई करोड ४५ लाख ३१ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका छन् । यसैगरी विदेशबाट फर्केका युवाको परियोजना कर्जातर्फ एक सय २३ ऋणीले नौं करोड ५९ लाख ३८ हजार रुपैयाँ, उच्च तथा प्राविधिक एवं व्यावसायिक शिक्षा कर्जातर्फ १५ ऋणीले ६१ लाख ५१ हजार रुपैयाँ र भूकम्पपीडितको निजी आवास निर्माण कर्जातर्फ १४ ऋणीले ५६ लाख छ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका छन् । कपडा उद्योग सञ्चालनका लागि ५२ ऋणीले पाँच करोड २९ लाख १५ हजार रुपैयाँ तथा युवा वर्ग स्वरोजगार कर्जातर्फ १७ ऋणीले ७९ लाख रुपैयाँ कर्जा स्वीकृत गराएका छन् ।
राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जा प्रवाहमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सहभागिता रहेको छ । वाणिज्य बैंकतर्फ कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंकलगायतले सहुलियतपूर्ण कर्जा प्रवाह गरेकोमा फाइनान्स कम्पनीमार्फत पनि विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकले मात्रै पाँच हजार ८० ऋणीलाई सात अर्ब ९५ करोड १७ लाख ३७ हजार दुई सय ३२ रुपैयाँबराबरको कर्जा स्वीकृत गरेको छ भने चार अर्ब १० करोड ९६ लाख ६१ हजार तीन सय ५४ रुपैयाँ बक्यौता रहेको छ । राष्ट्रिय वाणिज्य बैंकका पाँच हजार एक सय १५ ऋणीका लागि छ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ, जसमा चार अर्ब ६१ करोड ९४ लाख रुपैयाँभन्दा बढी बक्यौता छ ।
यसैगरी नेपाल बैंकका चार हजार दुई सय ३१ ऋणीले छ अर्ब १८ करोड १६ लाख ६९ हजार छ सय ७८ रुपैयाँ कर्जा स्वीकृत गराएका छन् भने तीन अर्ब नौ करोड ८५ लाख रुपैयाँभन्दा बढी बक्यौता छ । लक्ष्मी सनराइज बैंकका चार हजार तीन सय ९७ ऋणीका लागि छ
अर्ब २८ करोड ७१ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।