काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै नेपाल टेलिकमले राहत तथा सञ्चार सुविधा विस्तार गरेको छ । कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका प्रभावित नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गतका प्रभावित क्षेत्रमा विभिन्न निःशुल्क सञ्चार सुविधा उपलब्ध गराउने भएको हो ।
बाढीबाट क्षति भएका तर पुनः प्रयोग गर्न सकिने अवस्थामा नरहेका एनटी फाइबर केबल र राउटर निःशुल्क उपलब्ध गराई जडान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा तीन महिनाका लागि निःशुल्क सेवा अवधि थप गरिने कम्पनीको भनाई छ । यस्तै बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकका नाममा दर्ता भएका सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि गरिएको छ । यसका लागि पाँचवटा सम्पर्क गरिएका नम्बर उपलब्ध गराउनुपर्नेछ । ती नम्बर बाढी प्रभावित क्षेत्रमा रहेको पुष्टि भएपछि सम्बन्धित नम्बरको पुनः प्रमाणीकरण गरिने जनाइएको छ ।
कम्पनीले बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनासँगको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराएको छ । प्रभावित ग्राहकलाई प्याकेजसहित वितरण गरिएका ती सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत आवश्यक सञ्चार सम्पर्क कायम गर्न निःशुल्क कनेक्टिभिटी तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा प्रदान गर्ने मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र– नेपालको नाममा जडान गरिएको टोल–फ्री नम्बर १८१०५०००४०२ मा तीन महिनासम्मको मासिक बिल निःशुल्क गर्ने व्यवस्था पनि गरिएको छ ।
कम्पनीले राहत व्यवस्थापन र विपद् प्रतिकार्यलाई सहज बनाउन विभिन्न निकायलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार तथा प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमविपिएस क्षमताको इन्टरनेट उपलब्ध गराइएको जनाएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन युनिटलाई एक वर्षका लागि १०० एमविपिएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको कम्पनीको भनाई छ ।
साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षका लागि उच्चगतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा कम्पनीले करिब २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको जनाएको छ ।