काठमाडौं, विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि प्रचलित धितोपत्रसम्बन्धी कानुनी व्यवस्था र निर्देशिकाबमोजिम आईपीओ निष्कासन गर्ने जनाएको हो ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशको मोरङ जिल्ला, विराटनगर महानगरपालिका–१२, बखरीमा अवस्थित निप्पोन फर्मास्युटिकल विभिन्न प्रकारका औषधि उत्पादन गर्ने फर्मास्युटिकल कम्पनी हो । कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याबलेट, क्याप्सुल, तरल औषधि, मलम, क्रीम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायतका औषधी उत्पादन गर्दै आएको जनाएको छ ।
कम्पनीको विधिवत् दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा गरिएको थियो । स्थापना भएको पाँच वर्षपछि अर्थात् सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले चार वर्षको अवधिमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ ।
‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ अघि बढिरहेको निप्पोन फर्मास्युटिकलले नेपाली औषधि बजारको आवश्यकता सम्बोधन गर्दै आएको दाबी गरेको छ । स्वदेशमै आवश्यक पर्ने अधिकांश औषधिको उत्पादन बढाएर औषधिमा आत्मनिर्भरता हासिल गर्न योगदान पुर्याउने र राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई सहयोग गर्ने उद्देश्य कम्पनीले लिएको जनाएको छ ।
आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको र नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।