काठमाडौं, इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ नामक फाइनान्सियल लिटरेसी कोर्समा उत्साहजनक सहभागिता देखिएको छ ।
उक्त कोर्षमा हाल २ हजार ५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् । ड्राइभर पार्टनरलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्यले यो कोर्स सञ्चालन गरिएको हो । इनड्राइभ एपको ड्राइभर मोड ड्राइभर एकेडेमी मार्फत उपलब्ध यो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ ।
विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने ड्राइभर पार्टनरले आफ्नो आम्दानी र खर्चलाई व्यवस्थित रूपमा बुझ्न, योजना बनाउन तथा आर्थिक निर्णय लिन सकून् भन्ने उद्देश्यले कोर्समा सरल र व्यावहारिक जानकारी समेटिएको छ । कोर्समा आम्दानी तथा खर्च व्यवस्थापन, आर्थिक लक्ष्य निर्धारण, बचत तथा आकस्मिक कोष, जिम्मेवार रूपमा ऋण लिने तरिका र इनड्राइभमार्फत थप आम्दानीका अवसर लगायतका विषय समेटिएका छन् । प्रत्येक मोड्युलमा सिकेका विषयलाई आफ्नो वास्तविक आर्थिक अवस्थासँग जोडेर प्रयोग गर्न सक्ने गरी व्यावहारिक अभ्यास तथा क्याल्कुलेटरसमेत उपलब्ध गराइएको छ ।
कोर्समार्फत ड्राइभर पार्टनरले आफ्नो बजेट व्यवस्थापन गर्ने, आम्दानी र खर्चको योजना बनाउने, आर्थिक लक्ष्य निर्धारण गर्ने, नियमित बचत गर्ने तथा ऋण लिनुअघि आफ्नो आर्थिक क्षमताको मूल्यांकन गर्ने विषयमा आधारभूत व्यावहारिक ज्ञान हासिल गर्न सक्नेछन् ।