काठमाडौं, डुसान बोबक्याट इन्डिया प्रा.लि.ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण सहयोग गरेको छ ।
भदौ १०, २०८२ मा आएको बाढीबाट जनजीवन, घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक उपकरण उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सहयोगअन्तर्गत बोबक्याटका चार प्रकारका उपकरण उपलब्ध गराइएको छ । यसमा मिनी एक्स्काभेटर ४ थान, ब्याकहोई लोडर २ थान, स्किड स्टियर लोडर ३ थान र टेलिस्कोपिक ह्यान्डलर ६ थान रहेका छन् । यी उपकरण भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध क्षेत्रमा पहुँच पुर्याउने, सडक पुनःस्थापना तथा अन्य आपत्कालीन कार्यमा प्रयोग गरिने कम्पनीको भनाई छ ।
उपकरणहरू नेपालका अधिकृत डिलर एफ.जी. इन्कर्पोरेटेड प्रा.लि.को सहकार्यमा सर्भिस तथा तयारी गरी सञ्चालनका लागि तयार पारिएको कम्पनीले जनाएको छ । उपकरणहरू एफ.जी. इन्कर्पोरेटेड प्रा.लि.का अध्यक्ष पवनकुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने, निर्देशक पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा नेपाल सरकारका गृहमन्त्रीलाई एक समारोहबीच हस्तान्तरण गरेका थिए । कम्पनीले विपद् उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका कार्यमा नेपाल सरकारसँग सहकार्य गर्ने जनाएको छ ।