काठमाडौं, प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले बुधबार एकैपटक विभिन्न प्रदेशमा आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी पाँच सय २२ जनाले रक्तदान गरेका छन् ।
बैंकका अनुसार रक्तदान कार्यक्रम केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंसहित कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशअन्तर्गत छिन्चु शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ । मानव जीवन रक्षाका लागि अत्यावश्यक रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ ।
रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले सहभागी सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद व्यक्त गरे । उनले मानव जीवन रक्षाका लागि आवश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा आफूहरू अत्यन्त खुसी भएको बताए । बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवामूलक तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।