काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ । त्यसैगरी, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म र न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध हुन सक्नेछ ।
यो सहकार्यबाट उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा मझौलालगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ ।