काठमाडौं, जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि चारदिने प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ सुरु भएको छ । ‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौवटा पर्यटन व्यवसायी कम्पनी तथा होटलको सहभागिता रहेको छ ।
जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स (जाटा) र जापान नेसनल टुरिजम अर्गनाइजेसन (जेएनटीओ) को संयुक्त आयोजनामा भएको एक्सपोको १२औँ संस्करणको उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी थिइन् । यस वर्षको एक्सपोमा नेपालसहित विश्वका ७४ देश र जापानका ४६ प्रान्तबाट एक हजार चार सय २० कम्पनी तथा संस्थाका एक हजार पाँच सय ५३ बुथ रहेका छन् ।
आयोजकका अनुसार चार दिनसम्म चल्ने एक्सपोमा करिब एक लाख ८० हजार पर्यटन व्यवसायी तथा पर्यटकहरु सहभागी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय सहभागीका लागि मात्रै पाँच सय ९७ वटा स्टल रहेका छन् । जापानी पर्यटकका लागि नेपालका हिमाली गन्तव्य, बुद्धको जन्मस्थल लुम्बिनी, सांस्कृतिक सम्पदा, पदयात्रा तथा जैविक विविधता प्रमुख आकर्षणका रूपमा रहँदै आएका छन् । यही बजारलाई लक्षित गर्दै एक्सपोमा सहभागी नेपाली व्यवसायीहरूले जापानी पर्यटन व्यवसायी तथा उपभोक्तामाझ नेपालको पर्यटन उत्पादन र सेवाको प्रत्यक्ष बजारीकरण गरिरहेका छन् ।
एक्सपोको पहिलो दुई दिन सेप्टेम्बर २४ र २५ मा व्यावसायिक सहकार्यका लागि पूर्वनिर्धारित छ हजार चार सय ५४ वटा बीटुबी बैठक आयोजना हुनेछन् । ती बैठकमा ८५५ क्रेता र एक हजार १९ विक्रेता सहभागी छन् । त्यस्तै, सेप्टेम्बर २६ र २७ मा सर्वसाधारणलाई लक्षित बीटुसी कार्यक्रम सञ्चालन हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार एक्सपोको पहिलो दिनदेखि नै सहभागी नेपाली पर्यटन कम्पनीहरूले जापानी ट्राभल एजेन्सी तथा व्यवसायीसँग व्यावसायिक भेटवार्ता गरिरहेका छन् । उनका अनुसार भेटवार्ताका क्रममा नेपाली व्यवसायीहरूले जापानी बजारका लागि पर्यटन प्याकेज, पदयात्रा तथा अन्य पर्यटकीय सेवाबारे छलफल गर्नुका साथै हालैको भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रको वास्तविक अवस्था, पर्यटकीय गन्तव्य तथा पदयात्रा मार्गहरूको अवस्था र पर्यटक सुरक्षाका विषयमा समेत जानकारी दिइरहेका छन् ।
एक्सपोमा नेपाल पर्यटन बोर्डसँगै गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स (अलोफ्ट काठमाडौँ ठमेल) र गोरखा इन्टरनेसनल ट्राभल्स सहभागी छन् । नेपाल पर्यटन बोर्डका अर्का वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल र जापानबीचको लामो समयदेखिको पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ गर्न एक्सपो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए । हालैको प्राकृतिक विपद्पछि पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थिति निरन्तर कायम राख्नु आवश्यक रहेको उनको भनाई छ । यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन सञ्चालनमा रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उनले बताए ।
चारदिने एक्सपो अवधिभर नेपालको स्टलमा आउने जापानी तथा अन्तर्राष्ट्रिय आगन्तुकलाई श्रव्य–दृश्य सामग्री, ब्रोसर तथा अन्य प्रवद्र्धनात्मक सामग्रीमार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्य, पर्यटन गतिविधि र सेवाबारे जानकारी प्रदान गरिनेछ । साथै, बीटुबी र बीटुसी दुवै माध्यमबाट जापानी बजारमा नेपालको पर्यटन उत्पादनको प्रत्यक्ष प्रवद्र्धन र व्यावसायिक सम्पर्क विस्तारलाई प्राथमिकतामा राखिएको छ ।