विराटनगर, विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा केही समयदेखि व्यवसाय सञ्चालन गरेर बसेका एक चिनियाँ नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सूचना प्रविधि क्षेत्रको आईटी कम्पनीमा वैदेशिक लगानी भित्र्याउने भन्दै अनुमति लिएर खुद्रा पसल संचालन गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल महलमा योनो मार्ट सञ्चालन गरिरहेका चिनियाँ नागरिक जिङ्सियान सीएलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलीले अनुगमनका लागि सेन्ट्रल महल पुगेका बेला उनी पक्राउ परेका हुन् । सेन्ट्रल महलमा अनुगमन टोलीलाई चिनियाँ नागरिकले अवरोध गरेका थिए ।
अनुगमनमा अवरोध गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यसरी चिनियाँ नागरिकले अवरोध गरेपछि प्रहरीले उनको भिसाको उद्देश्यका सम्बन्धमा सोधपुछ गर्दा भिसाको दुरुपयोग गरेको देखिएको हो । प्रहरीका अनुसार सेन्ट्रल महलमा सञ्चालन भइरहेको व्यवसायिक मार्ट भने नेपाली नागरिकको नाममा दर्ता रहेको छ तर सञ्चालन भने चिनियाँ नागरिकले गर्दै आएको खुलेको थियो ।
अनुगमनका क्रममा बिल छलेर व्यापार सञ्चालन भइरहेको भेटिएपछि मार्टमा प्रशासनले सिलबन्दीसमेत गरेको छ । नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अनुसार खुद्रा व्यापार (रिटेल बिजनेस) मा विदेशी लगानी ल्याउन पाइँदैन । तर, यो चिनियाँ समूहले काठमाडौंमा सूचना प्रविधि कम्पनी दर्ता गरेर विराटनगरको सेन्ट्रल महलबाट घरायसी खुद्रा सामग्री बिक्री गरेको पाइएको हो । यो समूहले २०८२ कात्तिक २३ गते ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको खुलेको छ । वर्षको २४ वटा सफ्टवेयर उत्पादन गर्ने दाबी गरेको यो समूहले आईटीको कुनै काम नगरी चीनबाट घरायसी सामान ल्याएर खुद्रा पसल चलाउँदै आएको कुरा अनुगमनमा पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
विराटनगरको सेन्ट्रल मलमा छवटा सटर भाडामा लिएर सञ्चालनमा रहेको ‘योनो मार्ट’ दोलखा जिरीका धिरेन बिकेको नाममा दर्ता कायम रहेको खुलेको छ । बिकेलाई चिनियाँ समूहले ‘डमी’ साझेदार बनाएको दाबी समाचार स्रोतले गरेको छ । नेपाल आउजाउ गरिरहेका जिंसियानले सन् २०२६ को जुलाइ महिनाको २२ मा बिजनेस भिसा लिएको रहस्य पनि खुलेको छ ।