काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले द चौतारी हस्पिटालिटी ग्रुपमा ड्रिंक्स एन्ड बेभरेजमा सात प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्नेछन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा प्राप्त हुने छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न नवीन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यसैगरी, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित विशेष ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याइसकेको छ ।
बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । यसका अतिरिक्त क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याइ अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंकले देशभरका ६१ जिल्लामा फैलिएका दुई सय वटा शाखा, एक सय ६७ वटा एटीएम काउन्टर, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।