काठमाडौं, निजी विद्यालयका सञ्चालक तथा सरोकारवालाले शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिनिर्माणमा सहभागिता र शैक्षिक गुणस्तर सुधारका विषय स्पष्ट रूपमा समेट्न माग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), ललितपुर जिल्ला कार्यसमितिले आयोजना गरेको बृहत् शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले प्रि–स्कुलदेखि कक्षा १२ सम्म तथा प्राविधिक र व्यावसायिक शिक्षामा निजी क्षेत्रले करिब ४१ प्रतिशत भार वहन गरिरहेको दाबी गर्दै लगानीको सुरक्षा र नीतिनिर्माणमा सहभागिता सुनिश्चित गर्न माग गरे ।
लामो समयपछि आउन लागेको शिक्षा ऐनमा निजी विद्यालयको लगानी, शैक्षिक नवप्रवर्तन र विद्यालयको प्रकृतिअनुसार उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । निजी विद्यालय सञ्चालकले पुर्ख्यौली सम्पत्ति, ऋण तथा पारिवारिक गहना धितो राखेर शिक्षामा लगानी गरेको उल्लेख गर्दै उनले स्वदेशी शैक्षिक उद्यमीको लगानी सुरक्षाका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
प्रतिनिधिसभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक–अर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताइन् । निजी विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावक आर्थिक रूपमा सम्पन्न नहुने उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरिन् । उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान)का महासचिव रामहरि सिलवालले निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई राज्यले सम्मान गर्दै नीतिगत रूपमा उचित स्थान दिनुपर्ने बताए ।
राजनीतिक नेतृत्वले सुधारको प्रतिबद्धता जनाएपनि कर्मचारीतन्त्रको परम्परागत कार्यशैलीका कारण अपेक्षित परिवर्तन हुन नसकेको उनको भनाई छ । सामुदायिक विद्यालयमा सरकारले गर्ने लगानी र त्यसबाट प्राप्त प्रतिफलको तुलनात्मक अध्ययन गर्नुपर्ने उनले बताए । सरकारले सामुदायिक विद्यालयमा एक विद्यार्थीका लागि वार्षिक ४० हजारदेखि ८५ हजार रुपैयाँसम्म खर्च गर्ने गरेको उल्लेख गर्दै उनले निजी विद्यालयको आलोचनाले मात्र शिक्षा क्षेत्रका समस्या समाधान नहुने बताए । शिक्षा क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले निजी क्षेत्रसँग संवाद र सहकार्य गर्नुपर्ने उनको भनाई थियो ।
प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले शिक्षालाई संस्कार, सीप र प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताए । शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रलाई सँगै लिएर जानुपर्ने उल्लेख गर्दै उनले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न आकर्षित गर्न कानुनी अड्चन हटाउनुपर्नेमा जोड दिए । प्रारम्भिक बालविकास सञ्चालकहरूको सङ्गठन अपिनका अध्यक्ष कृष्णकुमार बोहराले पनि निजी शिक्षालयको लगानी सुरक्षाका लागि आवश्यक नीतिगत व्यवस्था गर्न आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा ऐनमार्फत निजी क्षेत्रको लगानी सुरक्षा, गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच, विद्यालय छनोटको अधिकार र शैक्षिक क्षेत्रको दीर्घकालीन विकासबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका थिए ।