काठमाडौं, भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी ८४ लाख ७६ हजार ७०० बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गर्ने तथा चोरी गरिएका सुनका गरगहना खरिदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा निजहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको धुनिबेँसी नगरपालिका–१ छात्रेदेउरालीका २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ एकम्बाका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ चारघरेका ४५ वर्षीय जितबहादुर विश्वकर्मा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घरमा कोही नभएको मौका छोपी उनीहरू घरभित्र प्रवेश गरी सुनका गरगहना, ल्यापटप र नगद चोरी गरेर फरार भएका थिए । उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोज तलास गर्ने क्रममा पाँच जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको छ ।
त्यसैगरी, चाँदीका औँठी दुई थान, डेल कम्पनीको ल्यापटप एक थान, विभिन्न कम्पनीका मोबाइल तीन थान, फलामको औजार एक थान र नेपाली नगद दुई लाख ७० हजार रुपैयाँसमेत बरामद गरिएको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरामद सुनका गरगहनाको कुल तौल छ तोला ८९ लाल रहेको छ ।