सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभामा टेबल गरिएको छ । आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सभासमक्ष बजेट टेबल गरेका हुन् ।
उनले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १३५ को उपनियम ३ बमोजिम राजस्व र व्ययको वार्षिक अनुमान र सोसँग सम्बन्धित विधेयकहरूको एक/एक प्रति सभासमक्ष टेबल गरेका हुन् । आर्थिक मामिलामन्त्री मल्लले आइतबारको पहिलो बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि नयाँ सरकार गठन भएको थियो । असार २९ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । प्रदेशसभाको अर्को बैठक अब सोमबार बिहान ८ः०० बजे बस्ने सभामुख भण्डारीले सभालाई जानकारी गराए ।