काठमाडौं, इसेवाले डिजिटल वालेट क्षेत्रमै पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । नयाँ सेवामार्फत ग्राहकले इसेवा एपबाटै प्रक्रिया पूरा गरी किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सक्ने भएका छन् ।
इसेवाले रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिसँग त्रिपक्षीय साझेदारी गरेको हो । साझेदारीपत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका मनन तुलाधरले हस्ताक्षर गरेका छन् । साझेदारीअनुसार ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत विएनपीएल सुविधा लिन सक्नेछन् । यसका लागि रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिता इन्भेष्टमेन्टले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले ग्राहकलाई नौं दशमलव ९९ प्रतिशत ब्याजदरमा अधिकतम दुई लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
इसेवाका अनुसार नयाँ सेवामार्फत विद्युतीय स्कुटर खरिदको वित्तीय प्रक्रिया थप डिजिटल र सहज बन्नेछ । ग्राहकले इसेवा एपबाटै आवश्यक प्रक्रिया पूरा गरी वित्तीय सुविधा लिन सक्ने भएकाले परम्परागत रूपमा कर्जा लिनुपर्ने प्रक्रियामा लाग्ने समय र झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ । त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई किस्ताबन्दीमा सहज बनाउने यस योजनाले विद्युतीय यातायातको प्रयोग विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्रको विकासमा सहयोग पुग्ने जनाईएको छ ।