काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।आयोगका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीतका कार्य गरी आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेका थिए। गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखिएको आयोगको दाबी छ।
श्रेष्ठको नियुक्ति भएको २०५३ असार २७ देखि २०८१ चैत २९ सम्मको अवधिलाई जाँच अवधि कायम गरी आयोगले उनी र उनका एकाघर परिवारका सदस्यको आय, व्यय तथा लगानीको विस्तृत विश्लेषण गरेको जनाएको छ।अनुसन्धानका क्रममा श्रेष्ठको वैध आम्दानी र विभिन्न शीर्षकमा भएको खर्च तथा लगानीबीच तुलना गर्दा आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति देखिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कसुर गरेको आरोप लगाइएको छ।आयोगले श्रेष्ठलाई कानुनबमोजिम कैद, कायम गरिएको बिगो बराबर जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरेको छ। उनकी श्रीमतीका नाममा रहेको गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न पनि मागदाबी गरिएको आयोगले जनाएको छ।
गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउने वा अन्य व्यक्तिका नाममा राख्ने कार्यसमेत अनुसन्धानको दायरामा ल्याइएको आयोगले जनाएको छ। सोही आधारमा श्रेष्ठ र उनकी श्रीमतीका नाममा रहेको सम्पत्तिको विवरणसमेत अनुसन्धान गरी कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको हो।