गत असोज ३० गते अर्थात् अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस यस पटक ४६औँ वर्षमा प्रवेश गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को स्थापना दिवसका रूपमा १९४५ मा सुरु भएको यो दिवस सन् १९८१ देखि विश्वव्यापी रूपमा मनाउन थालिएको थियो । यस वर्षको आधिकारिक नारा ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन ’ रहेको छ । यो नाराले आजको कृषिमा आविष्कार, प्रविधि र ज्ञानको प्रयोग गरेर भोलिको पुस्तालाई पर्याप्त, सुरक्षित र पोषणयुक्त खाना सुनिश्चित गर्ने बाटो देखाउँछ ।
विश्वमा अहिले पनि करिब ६४५ मिलियन मानिस भोकमरीको शिकार छन् भने करिब २.६९ बिलियन अर्थात् झन्डै एक तिहाइ जनसंख्या स्वस्थ आहार किन्न सक्दैनन् । उत्पादन पर्याप्त भए पनि पहुँच, मूल्य, वितरण प्रणाली र पोषणको गुणस्तरमा गम्भीर समस्या छ । जलवायु परिवर्तन, द्वन्द्व, आर्थिक अस्थिरता र खाद्य प्रणालीमा आउने झट्काहरूले यो चुनौतीलाई झनै गहिरो बनाएका छन् । यस्तो अवस्थामा कृषिमा नवप्रवर्तन मात्र समाधान होइन, आवश्यकता नै बनेको छ ।
विश्व खाद्य दिवसको इतिहास र महत्व: एफएओको स्थापना सन् १९४५ को अक्टोबर १६ मा भएको थियो । सन् १९७९ मा एफएओको २०औँ महाधिवेशनमा विश्व खाद्य दिवस मनाउने प्रस्ताव पारित भयो र सन् १९८० मा संयुक्त राष्ट्रसङ्घको महासभाले यसलाई समर्थन ग¥यो । त्यसपछि १९८१ देखि नियमित रूपमा यो दिवस मनाउन थालियो । प्रत्येक वर्ष नयाँ विषयवस्तु चयन गरिन्छ जसले भोकमरी, खाद्य सुरक्षा, पोषण, दिगो कृषि र ग्रामीण विकासका विभिन्न पक्षलाई उजागर गर्छ । यस वर्षको नाराले विशेष महत्व राख्छ किनकि यसले विज्ञान, प्रविधि, डेटा, कृत्रिम बुद्धिमत्ता र परम्परागत ज्ञानलाई एकसाथ ल्याएर कृषि–खाद्य प्रणालीलाई रूपान्तरण गर्न जोड दिएको छ । एफएओका अनुसार नवप्रवर्तन भनेको केवल उच्च प्रविधि मात्र होइन । यसमा डिजिटल सल्लाह सेवा, सुधारिएका बीउ, जैवप्रविधि, किसान फिल्ड स्कुल, सहकारी मोडेल, परम्परागत भूमि र पानी व्यवस्थापन, नयाँ बजार प्रणाली, वित्त र वितरणका विधिहरूसमेत पर्छन् ।
पोषण सुरक्षा किन आवश्यक छ? खाद्य सुरक्षा भनेको पर्याप्त खाना उपलब्ध हुनु हो भने पोषण सुरक्षा भनेको त्यो खाना पौष्टिक, सुरक्षित र विविध हुनु हो । धेरै देशमा क्यालोरी पर्याप्त भए पनि लुकेको भोकमरी माइक्रोन्युट्रिएन्टको कमी व्यापक छ । आइरन, जिंक, भिटामिन ए जस्ता तत्वको अभावले बालबालिकाको वृद्धि, महिलाको स्वास्थ्य र समग्र उत्पादकत्वमा असर पार्छ । देशमा पनि यो समस्या विद्यमान छ । धान, मकै, गहुँ जस्ता मुख्य बालीमा निर्भरता उच्च छ भने तरकारी, फलफूल, दुग्ध र प्रोटिनयुक्त खाद्यको उपभोग असन्तुलित छ । जलवायु परिवर्तनले बालीनालीमा असर पार्दा पोषणको गुणस्तर झन् खस्किएको छ । त्यसैले अब उत्पादन बढाउने मात्र होइन, पोषण–संवेदनशील कृषि अपनाउनुपर्ने अवस्था आएको छ ।
कृषिमा नवप्रवर्तनका विभिन्न आयाम: बालीहरूमा पोषण तत्व प्राकृतिक रूपमा बढाउने बायोफोर्टिफिकेसन एउटा महत्वपूर्ण नवप्रवर्तन हो । भारतमा आईसीएआरले १५० भन्दा बढी बायोफोर्टिफाइड जात विकास गरेको छ । नेपालमा पनि जिंकयुक्त धान, आइरनयुक्त मकै, भिटामिन ए युक्त तरकारी जस्ता अनुसन्धान अगाडि बढाउन सकिन्छ । यसले लुकेको भोकमरीसँग लड्न ठूलो योगदान पुर्याउँछ ।
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता : मौसम पूर्वानुमान, माटो परीक्षण, बाली रोग पहिचान, बजार मूल्य जानकारी र सिँचाइ व्यवस्थापनमा मोबाइल एप र एआईको प्रयोग बढ्दो छ । किसानलाई समयमै जानकारी पु¥याएर जोखिम कम गर्न सकिन्छ । नेपालमा पनि डिजिटल एग्रिकल्चरल एक्स्टेन्सन सेवा विस्तार गर्ने प्रयास भइरहेका छन् ।
जलवायु–स्मार्ट कृषि : बाढी, खडेरी र तापक्रम वृद्धि सहन सक्ने बालीका जात, पानी बचत गर्ने सिँचाइ प्रणाली, माटो स्वास्थ्य सुधार गर्ने विधि र एकीकृत खेती प्रणाली आजको आवश्यकता हुन् । नेपालका पहाडी र हिमाली क्षेत्रमा यस्ता प्रविधि विशेष रूपमा उपयोगी छन् ।
परम्परागत ज्ञान र स्थानीय बीउ : आदिवासी समुदाय र स्थानीय किसानसँग सयौं वर्षदेखि जम्मा भएको ज्ञान अमूल्य छ । स्थानीय जातका बाली, मिश्रित खेती, जैविक मल र प्राकृतिक कीट नियन्त्रण विधिहरूलाई आधुनिक अनुसन्धानसँग जोड्दा दिगो समाधान निस्कन्छ । एफएओले आदिवासी जनसंख्यालाई जैविक विविधताका संरक्षकका रूपमा विशेष महत्व दिएको छ ।
महिला र युवाको भूमिका : महिला किसानले पुरुषसरह जग्गा व्यवस्थापन गर्दा पनि उत्पादकत्वमा २४ प्रतिशत अन्तर देखिन्छ । सीप, वित्त, प्रविधि र निर्णय प्रक्रियामा महिलाको पहुँच बढाउनुपर्छ । यस वर्ष अन्तर्राष्ट्रिय महिला किसान वर्ष पनि रहेकाले यो पक्ष अझ महत्त्वपूर्ण छ । युवाहरूलाई कृषिमा आकर्षित गर्न स्टार्टअप, एग्रिटेक र मूल्य श्रृंखलामा नवप्रवर्तन आवश्यक छ । विश्वभर करिब १.३ बिलियन युवा कृषि–खाद्य प्रणालीमा संलग्न छन् । उनीहरूको ऊर्जा र नवीन सोचलाई उपयोग गर्नुपर्छ ।
खाद्य हानि र फोहोर न्यूनीकरण : उत्पादनको करिब १३ प्रतिशत बाली कटानीपछि र थप १९ प्रतिशत खुद्रा तथा उपभोक्ता स्तरमा खेर जान्छ । भण्डारण, प्रशोधन, ढुवानी र प्याकेजिङमा नवप्रवर्तनले यो हानि घटाउन सकिन्छ ।
नेपालको सन्दर्भ र वर्तमान अवस्था: नेपालमा कृषि अझै पनि अधिकांश जनसंख्याको जीविकोपार्जनको मुख्य स्रोत हो । तर जग्गा खण्डीकरण, सिँचाइको अभाव, युवा पलायन, जलवायु असर र आयात निर्भरता जस्ता चुनौतीहरू छन् । हालै सरकारले राष्ट्रिय कृषि नीति २०८३ जारी गरेको छ जसले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, किसानको आम्दानी वृद्धि, व्यावसायिकीकरण र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ ।
काठमाडौंमा यस वर्षको ४६औँ विश्व खाद्य दिवसका सन्दर्भमा खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । खाद्य सम्प्रभुता, जलवायु न्याय, किसानको जीविकोपार्जन र जनचेतना अभिवृद्धि मुख्य विषय बनेका छन् । आर्टिभिज्म, सडक नाटक, बहस र प्रदर्शनीमार्फत जनस्तरमा सन्देश पु¥याउने प्रयास भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुख्य कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ । नेपालमा विद्यालय खाना कार्यक्रम राष्ट्रिय रूपमा सञ्चालन भई करिब ३० लाख बालबालिकासम्म पुगेको छ । होम–ग्रोन स्कुल फिडिङमार्फत स्थानीय किसानलाई बजार जोड्ने काम भइरहेको छ । यस्ता कार्यक्रमहरूले पोषण सुरक्षा र कृषिबीचको सेतु बनाउन मद्दत गर्छन् । जलवायु अनुकूलनका लागि नवप्रवर्तन एक्सेलेटर जस्ता कार्यक्रममार्फत सौर्य सिँचाइ, डिजिटल सल्लाह प्लेटफर्म, बीमा र मूल्य श्रृंखलामा काम गर्ने स्टार्टअपहरूलाई प्रोत्साहन दिइएको छ । चीनसँगको सहकार्यमा पहाडी र हिमाली क्षेत्रमा जलवायु–प्रतिरोधी कृषि परियोजना सुरु भएको छ ।
चुनौती र अवसर: नवप्रवर्तनको लाभ साना किसानसम्म पु¥याउन ठूलो चुनौती छ । प्रविधि महँगो हुनु, ज्ञानको अभाव, वित्तको पहुँच कम हुनु र पूर्वाधार कमजोर हुनु मुख्य बाधा हुन् । अनुसन्धानमा लगानी बढाउनुपर्छ । विश्वव्यापी रूपमा कृषि अनुसन्धान र विकासमा लगानीको वृद्धि दर घटेको छ । यसलाई उल्ट्याउन सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारहरूको संयुक्त प्रयास आवश्यक छ । अवसरहरू पनि प्रशस्त छन् । डिजिटल प्रविधिको विस्तार, युवा उद्यमीहरूको चासो, अन्तर्राष्ट्रिय सहयोग र नीतिगत प्राथमिकताले नेपाललाई पोषण–सुरक्षित कृषि प्रणालीतर्फ अघि बढाउन सक्छ । एकीकृत खेती प्रणाली, अर्गानिक कृषि, मूल्य अभिवृद्धि र निर्यात प्रवद्र्धनले किसानको आम्दानी बढाउँदै पोषण सुरक्षा पनि सुनिश्चित गर्न सकिन्छ ।
सबैको भूमिका: सरकारले नीति, अनुसन्धान र पूर्वाधारमा लगानी गर्नुपर्छ । निजी क्षेत्रले प्रविधि विकास र बजार जोड्नुपर्छ । नागरिक समाज, मिडिया र शैक्षिक संस्थाले जनचेतना फैलाउनुपर्छ । प्रत्येक नागरिकले खाना खेर नफाल्ने, विविध र स्थानीय खाद्य उपभोग गर्ने र दिगो कृषिलाई समर्थन गर्ने बानी बसाल्नुपर्छ । एफएओका महानिर्देशक क्यू दोङयुले भनेझैं, आज हामीले गर्ने कार्य नयाँ प्रविधि, परम्परागत ज्ञानको उपयोग र युवाहरूको सशक्तिकरणले भोलिको खाद्य प्रणाली निर्धारण गर्नेछ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि ज्ञान, प्रविधि र क्षमता हामीसँग भएको बताउँदै यसलाई प्रयोग गर्ने समय आएको उल्लेख गरेका छन् ।
निष्कर्ष: विश्व खाद्य दिवसले हामीलाई याद दिलाउँछ कि भोकमरी अन्त्य गर्न सकिने लक्ष्य हो । तर यसका लागि उत्पादन मात्र होइन, पोषण, पहुँच, दिगोपना र समावेशितामा ध्यान दिनुपर्छ । ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ भन्ने नाराले यही बाटो देखाउँछ । आज हामीले अपनाउने नयाँ सोच, प्रविधि र सहकार्यले भोलिका पुस्तालाई सुरक्षित, पौष्टिक र पर्याप्त खाना सुनिश्चित गर्न सक्छ । नेपालजस्तो कृषिप्रधान मुलुकले यो अवसरलाई उपयोग गर्दै स्थानीय ज्ञान र आधुनिक प्रविधिबीच सन्तुलन कायम गर्नुपर्छ । किसानलाई सम्मानित पेशा बनाउने, महिला र युवालाई केन्द्रमा राख्ने र जलवायु प्रतिरोधी प्रणाली निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ । जब हरेक व्यक्ति, संस्था र सरकारले यो जिम्मेवारी महसुस गर्छ तब मात्र आज नवप्रवर्तन, भोलि पोषणको सपना साकार हुनेछ । विश्व खाद्य दिवस केवल एक दिनको उत्सव मात्र नभएर, निरन्तर कार्यको आह्वान हो । तसर्थ हामी सबै मिलेर कृषिमा नवप्रवर्तन ल्याऔं र पोषण सुरक्षा सुनिश्चित गरौँ । किनकि खाना आधारभूत मानव अधिकार हो र यसलाई सबैको पहुँचमा पु¥याउनु हाम्रो साझा कर्तव्य पनि हो ।