जनकपुरधाम, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजिनामा दिएका छन् । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले राजिनामा दिएका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था कमजोर बनेको थियो । प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि उनले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री यादवले अंकगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
मुख्यमन्त्री यादवको दिएको राजीनामा मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले स्वीकृतसमेत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको जानकारी दिएको हो । मुख्यमन्त्रीको राजिनामा स्वीकृतसंगै नयाँ सरकार गठनको लागी दाबी पेस गर्न पनि आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यलयले मंसिर ४ गते साँझ ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न आह्वान गरेको हो ।
त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको छ । मुख्यमन्त्री यादवको राजीनामापछि मधेश प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुङ्गो लागेको छैन । एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।