न्युयोर्क, अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिंक स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाउनुभएको छ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।
मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिंकको सेवा सर्त उल्लंघन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाए । उनले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गरे । ‘स्टारलिंकका सर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन । सर्त उल्लंघन भएमा सेवा बन्द गरिनेछ’, मस्कले अर्को पोस्टमा लेखेका छन् ।
यद्यपि, मस्कले युक्रेनको रक्षाका लागि स्टारलिंक अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनका अनुसार, तत्काल अवरुद्ध पार्न वा नष्ट गर्न कठिन भएकाले यो प्रणाली युक्रेनी सेनाका लागि निर्णायक छ । ‘स्टारलिंक बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्नेछ’, उनले भने । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका छन् । उनले स्टारलिंक सेवामा आउने अवरोधका लागि स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबी पनि गर्दै आएका छन् ।
रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सञ्चालनका लागि नागरिक प्रयोजनको स्टारलिंक तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ । युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले शनिबार निगरानी प्रणालीहरूले स्टारलिंक र स्टारशिल्डको गतिमा सुधार देखाएको बताएका छन् । उनका अनुसार, प्रणालीको गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको छ र सञ्चार सम्पर्क स्थिर रहेको छ ।
‘यो उपलब्धि हाम्रो अग्रपंक्ति, सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन र सञ्चारका लागि अत्यन्त महत्वपूर्ण छ’, खमाराले भने । उनले आवश्यक गति पुनः प्राप्त भएको र सेवा पुनःस्थापनाको काम रातिदेखि नै सुरु गरिएको पनि बताए । युक्रेनी सेनाका लागि अग्रपंक्तिमा रसद व्यवस्थापन गर्न र रकेटबाट चल्ने ड्रोनको खतरासहितका आक्रमणबाट देशको रक्षा गर्न यो सुधार महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
स्टारलिंक सञ्जाल पछिल्लो समय युक्रेन र अमेरिकाबीचको विवादको प्रमुख विषय बनेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई फाइदा पुग्ने गरी काम गरेको आरोप लगाएका थिए । उनका अनुसार, अमेरिकाले युक्रेनतर्फ लक्षित क्षेप्यास्त्र आक्रमणबारे समयमै पूर्वसूचना नदिएको र स्टारलिंकको गति सीमित पारेको कारण युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको थियो । रक्षामन्त्री खमाराले यस विषयमा जेलेन्स्कीले लिएको ‘दृढ अडान’को प्रशंसा गर्दै त्यसले सकारात्मक नतिजा दिइरहेको बताएको एएफपीले जनाएको छ ।