काठमाडौं, नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन आग्रह गरेको छ ।
नाइमाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावका बारेमा ध्यानाकर्षण गराएको हो । सो क्रममा नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था तथा नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नभएकोले प्रष्ट पार्न आग्रह गरेको छ । एउटै ब्रान्डका विभिन्न मोडेललाई अलग–अलग वस्तु मानी प्रत्येक मोडेलका लागि छुट्टाछुट्टै धरौटी मागिँदा व्यवसायीको ठूलो रकम रोकिने र आथिक्र भार थपिने नाइमाले जनाएको छ । नाइमाले ‘वस्तु’को परिभाषा स्पष्ट गर्न र एउटै ब्रान्डका विभिन्न मोडेलका लागि छुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन आग्रह गरेको छ । यस विषयमा यसअघि पनि मन्त्रालयमा लिखित सुझाव पेस गरिसकेको जनाएको छ ।
छलफलका क्रममा मन्त्री साहले नाइमाले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै यसअघि भएका निर्णयहरूको पुनरावलोकन गर्ने र एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएका थिए । नाइमाले नियम पुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण र सुझाव उपलब्ध गराई मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । भेटमा नाइमाका बोर्ड सदस्यहरू निराकार श्रेष्ठ र उदयन काब्रा, रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छालगायत सदस्य कम्पनीका प्रतिनिधिहरू तथा नाइमाका कायक्रारी निर्देशक राजकुमार दुलाल सहभागी थिए ।