काठमाडौं, ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ ।
साना तथा मझौला व्यवसायीको क्षमता विकास र प्रविधिको व्यावहारिक प्रयोग विस्तार नभएसम्म नेपालको आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौती रहेकाले उक्त अभियान सुरु गरिएको हो । अभियानले व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त डिजिटल साक्षरता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघले समेत सहयोग र सहकार्य गर्ने बताइएको छ । प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन व्यवसायीहरूले माग गर्दै आएका छन् ।
विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले महासंघले एकवर्षे राष्ट्रिय अभियान अघि बढाएको हो । यस वर्षको विश्व पर्यटन दिवसको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले नेपालको परम्परागत आत्मीय आतिथ्यतालाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ ।
होटल व्यवसायी महासंघका अध्यक्ष टीआर भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ ।
अभियानको मूल उद्देश्य डिजिटल प्रविधिको पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराउँदै उनीहरूको दैनिक व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउनु हो ।
महासंघले आफ्नो सातवटै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको संगठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ । यो बीचमा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिने जनाइएको छ ।
विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग पु¥याउने लक्ष्य
राखिएको छ ।
व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु अभियानको प्रमुख उद्देश्य हुने जनाइएको छ । यसका लागि व्यवसायीको डिजिटल अवस्थाको पहिचान, आवश्यकताअनुसार प्रशिक्षण र प्राविधिक सहयोगलाई प्राथमिकता दिइनेछ ।
होटल तथा रेस्टुरेन्ट क्षेत्र पर्यटन, रोजगारी सिर्जना र उद्यमशीलताको महत्वपूर्ण आधार हो । बदलिँदो पर्यटन बजारमा अनलाइन उपस्थिति, डिजिटल बुकिङ, ग्राहक समीक्षा र प्रविधिमैत्री सेवा व्यवसाय सञ्चालनका महत्वपूर्ण पक्ष बन्दै गएका छन् ।
यस्तो अवस्थामा सुरु गरिएको राष्ट्रिय डिजिटल साक्षरता अभियानले साना, मझौला तथा ठूला व्यवसायबीच प्रविधि र अवसरको पहुँचमा रहेको दूरी घटाउन, व्यवसायीको क्षमता अभिवृद्धि गर्न र नेपाली आतिथ्यता क्षेत्रलाई समयानुकूल बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ । महासंघले सुरु गरेको अभियानलाई आगामी एक वर्ष पहिलो कार्यचक्रका रूपमा देशभर सञ्चालन गर्दै संस्थागत निरन्तरता दिने जनाएको छ ।
सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रबाट व्यक्त भएको सहकार्यको प्रतिबद्धताले अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्न थप आधार तयार गरेको महासंघको विश्वास छ ।