काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनका क्रममा सुन्दरहरैँचामा झडप भएको छ। मनोनयन दर्ताका क्रममा बुधबार विवाद भएपछि कुटपिट र तोडफोड भएको हो।
सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा भएको झडपमा केही व्यक्ति घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदारमाथि कुटपिट भएको छ।
प्रतिनिधिको नामावलीमा एक महिलाको नाम छुटेको विषयलाई लिएर विवाद सुरु भएको थियो। माइन्युट लेखन भइरहेका बेला ती महिलाले आफ्नो नाम समावेश नभएको भन्दै कुरा उठाएपछि विवाद भएको कांग्रेस मोरङका सहसचिव भुवनेश्वर मण्डलले जानकारी दिए।
मण्डलका अनुसार त्यसपछि बाहिरबाट आएका केही व्यक्तिले एक्कासि तोडफोड र आक्रमण गरेका थिए। झडपमा क्षेत्रीय सभापतिका उम्मेदवारहरू चुमनारायण तवदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको छ।
घटनापछि अधिवेशनस्थलमा भागदौड मच्चिएको थियो। त्यहाँ रहेकी पार्टी सहमहामन्त्री तथा महाधिवेशन प्रतिनिधिकी उम्मेदवार डा. डिला संग्रौला पनि भागेकी थिइन्। उनले आफूलाई समेत चोट लागेको बताएकी छन्। झडपका क्रममा अधिवेशनस्थलमा ५० वटाभन्दा बढी कुर्सी तोडफोड भएको छ।