काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको सबै तयारी सम्पन्न गरेको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यसपालिको एनपीएलमा क्यानले कम्तीमा ७० करोडको कारोबार हुने अपेक्षा गरेको छ । त्यसैगरी २० करोड आम्दानी हुने क्यानको आशा छ । क्यानका अनुसार तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाखले बढाइएको हो ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए । गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्व थप बढ्ने क्यानको अपेक्षा छ ।
आागामी मंसिर ५ सम्म सञ्चालन हुने लिगमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स लिगमा सहभागी छन् । यी टोलीले प्रतिस्पर्धा बलियो बनाउन विभिन्न देशका चर्चित खेलाडीलाई खरिद गरेका छन् ।
यसैबीच, क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार एनपीएलको दुई संस्करणको अडिट रिपोर्ट बोर्डले पास गरेर आईसीसीमा अगाडि बढाइएको छ । क्यानले एनपीएलको सबै हिसाब पारदर्शी रहेको दाबी गरेको छ । क्यानले लिगको हिसाबकिताब गोलमटोल गरेको आरोप लागे पनि क्यान सचिव पारस खड्काले सबै हिसाब पारदर्शी नै रहेको बताए । नेपालमा सबै खेल संघभन्दा बढी क्यान पारदर्शी रहेको उनको भनाइ छ । सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा सबै हिसाब बुझाएको उनको दाबी छ ।
एसिया कपमा छनौट टोलीलाई ३० लाख पुरस्कार
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् ।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले हराउँदै दोस्रो पटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उनले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपीएलले ठूलो टेवा पुर्याएको पनि बताए । उनले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गरे ।