काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्य न्यायाधीशद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो।
यसअघि भदौ ३१ गते सर्वोच्च अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चले उच्च अदालत पाटनले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न दिएको आदेश बदर गरेको थियो।
सर्वोच्चले अग्रवालको उमेर, स्वास्थ्य अवस्था, कर्जा भुक्तानीको अवस्था तथा कसुरमा संलग्नता पुष्टि हुने आधार नदेखिएको लगायतका विषयलाई ध्यानमा राख्दै थुनामा राख्नुपर्ने अवस्था नरहेको ठहर गरेको थियो।तर, विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा विचाराधीन रहेको आधार उल्लेख गर्दै अग्रवाललाई थुनामा पठाएको हो।
विशेष अदालतमा बयान दिने क्रममा अग्रवालले आफूमाथिका आरोप निराधार रहेको दाबी गरेका थिए। उनले व्यवसायी दीपक भट्टसँगको आर्थिक कारोबार व्यक्तिगत लेनदेनको निरन्तरता भएको र २२ करोड ५० लाख रुपैयाँ आफूले पाउनुपर्ने रकम रहेको जिकिर गरेका थिए।
सरकारी पक्षले भने सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको आरोप लगाउँदै अग्रवालविरुद्ध २१ करोड ७ लाख ४४ हजार ४०३ रुपैयाँ बिगो कायम गर्न माग गरेको छ।शंकर ग्रुपका विभिन्न कम्पनीमा करिब २० हजार कर्मचारी कार्यरत रहेको बताइएको छ। अग्रवालका छोरा सुलभसमेत थुनामा रहेको र अर्का छोरा साहिल देशबाहिर रहेको अवस्थामा उनको थुनाले समूहको व्यावसायिक सञ्चालनमा पार्न सक्ने प्रभावबारे चासो बढेको छ।
सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका अग्रवाललाई अर्को मुद्दामा पुनः थुनामा पठाउने विशेष अदालतको आदेशले न्यायिक प्रक्रियाबारे बहस सिर्जना गरेको छ। उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन जाने सम्भावना रहेको छ।