बागमती, हेटौँडा उपमहानगरपालिका–७ मा रहेको नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए ।
किंवदन्तीअनुसार यहाँका स्थानीयवासी एवं पाल्तु जनावरमा जङ्गल फडानी भई बस्ती बस्न थालेपछि विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन थालेछन् । समग्र बस्ती नै रोगव्याधिबाट ग्रसित हुन थालेपछि स्थानीय ज्योतिषी कहाँ हेराउँदा वनदेवीको पूजाआजा गरेमा सबै समस्याबाट मुक्त भइने भन्ने कुरा आएछ ।
ज्योतिषीले भने अनुसार उक्त परिसरमा रहेको त्रिशूल जस्तो आकारको देखिने सालको रुखमुनि शिला स्थापना गरी वनदेवीको पूजा गरिएसँगै सबै किसिमका स्वास्थ्य समस्या अन्त्य भएको किंवदन्ती रहेको अध्यक्ष ढकालले जानकारी दिए ।
त्यस समयदेखि नै यस आसपासका बहादुरगञ्ज, राजपानी, नागस्वती, अग्राठेलगायत क्षेत्रका बासिन्दाले अत्यन्त श्रद्धा भक्तिपूर्वक नियमित रुपमा वनदेवीको पूजाआजा गर्दैै आएको बताए । उनका अनुसार श्रद्धा भक्तिका साथ पुजाआजा गरिएमा मनले चिताएको पुग्ने गरेको हाम्रा प्रत्यक्ष अनुभवहरू रहेका छन् ।
चैत शुक्ल अष्टमीदेखि नवमीसम्म यहाँ मेला लाग्ने गरेको छ । यसअघि मन्दिरमा मगर समूदायले हाँस तथा कुखुरा, क्षेत्री समुदायले बोका, नेवारले राँगाको बलि दिने प्रचलन रहेको ढकालले जानकारी दिए ।
बडादसैँ, चैतेदसैँसहित विभिन्न तिथिमिति र पर्व विशेषमा पूजाआजा हुने गरेको ढकालले बताए । यस मन्दिरमा अन्य कुनै आर्थिक स्रोत नभए पनि भक्तजनबाट गरिएका दान तथा सहयोगले नियमित पूजाआजा सञ्चालन भइरहेको उनको भनाइ छ ।
यस अघि मन्दिरमा २०८१ साल माघ १२ गतेदेखि २० गतेसम्म विशेष धार्मिक अनुष्ठान लगाइएको थियो । हेडौँडा महानगरपालिका–७ का पूर्ववडाध्यक्ष राजन थापाका अनुसार हेटौँडाको बस्ती विकासको इतिहासको साक्षी यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । विभिन्न मनोकांक्षका साथ हेटौँडा र आसपासका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको उनले बताए ।
वनदेवी मन्दिरको दिगो र व्यवस्थित सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको छ । मन्दिरको अक्षयकोषमा २० लाख जम्मा भइसकेको अध्यक्ष ढकालले जानकारी दिए ।