काठमाडौं, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्युत् नियमन आयोग ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले १४औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो । १५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको आधारमा शतप्रतिशत हकप्रद माग गरिएको थियो । तर, आयोगले प्रस्तावित रकममध्ये ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रदका लागि मात्र स्वीकृति दिएको छ । कम्पनीले भने १ः१ अनुपातमै हकप्रद सेयर निष्कासनको अनुमति माग गर्दै आयोगमा पुनरावेदन गर्ने तयारी गरेको जनाएको छ ।
आयोगले तोकेको सर्तअनुसार हकप्रदबाट संकलित रकममध्ये मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत् आयोजनामा स्वपुँजी लगानी गरिनेछ । बाँकी रकम भने अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको आवधिक कर्जा भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
संखुवासभामा रहेको ८.५ मेगावाट क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजना कम्पनीको मुख्य परियोजना हो । हकप्रद सेयरको बिक्री प्रबन्धक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्रै हकप्रद सेयर सर्वसाधारण तथा योग्य लगानीकर्ताका लागि निष्कासन खुला हुनेछ ।