न्युयोर्क, संयुक्त राष्ट्रससंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् । युद्धको छ महिनापछि अमेरिका र इरानबीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद भएको बताएका हुन् ।
यसको एक मात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको उनको भनाइ छ । संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सँधै सम्पर्कमा रहेको डुजारिकले बताएका छन् ।
महासचिवका लागि चिन्ताका विषयहरुमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवाश्यकताका सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धिलगायतका पक्षहरु समावेश रहेको उनले बताएका हुन् । महासचिवका व्यक्तिगत दूत, जीन अर्नाल्ट, द्वन्द्वको स्थायी समाधानमा पुग्न सम्बन्धित पक्ष र मध्यस्थकर्ताहरूलाई सहयोग गर्न सँधै उपलब्ध भएको र सम्पर्कमा रहीरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए । यसको बदलामा, इरानले इजरायल र खाडीमा रहेका अमेरिकी सैन्य आधारहरूमा प्रतिआक्रमण ग¥यो । जसको परिणामस्वरुप विश्वव्यापी ऊर्जा व्यापारका लागि प्रमुख समुद्री मार्गको रुपमा सञ्चालित होर्मुजको जलमार्ग अवरुद्ध भएको थियो, जसले तेल र वस्तुहरूको प्रवाहलाई गम्भीर रूपमा प्रभावित बनाइएको थियो ।
गत जुन १८ मा, संयुक्त राज्य अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत दुई देशहरूले अन्तिम सम्झौतामा पुग्न ६० दिनभित्र वार्ता गनुपर्र्नेे तय गरिएको थियो । तर, दुई देशबीच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया पूर्वयोजनाअनुसार अघि बढ्न नसकेकाले नतिजा स्पष्ट हुन नसकेको सिन्ह्वाले जनाएको छ ।