काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका–८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका–३ बस्ने नुवाकोट ककनी गाउँपालिका–८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये विमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सागरले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र सिन्साले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विमलालाई काठमाडौं महानगरपालिका–१२ बाट र प्रेम प्रसादलाई काठमाडौं महानगरपालिका–१६ बाट बुधबार तथा सागरलाई काठमाडौं महानगरपालिका–३ बाट र सिन्सालाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।