काठमाडौं, रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेशनमार्फत २० लाख रुपैयाँ सहयोग गरेको छ ।
एक्सपर्ट फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । फाउन्डेसनका अनुसार उक्त सहयोग नेपाल सरकारको समन्वयमा सञ्चालन हुने खोज तथा उद्धार, तत्काल राहत वितरण तथा दीर्घकालीन सामुदायिक पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ ।
सिड्नीमा मुख्यालय रहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका ग्लोबल निर्देशक बद्री अर्यालले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै एक्सपर्ट फाउन्डेसनले आफ्नो क्षमताअनुसार सहयोग गरेको जानकारी दिए । एक्सपर्ट फाउन्डेसनले बाढीबाट प्रभावित समुदायलाई तत्काल राहतसँगै आवश्यकताअनुसार दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।