दोहा, संयुक्त राज्य अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः सुरु गर्न होर्मुज जलसन्धिबारे इरान र ओमानबीच हुने सम्भावित सम्झौता महत्वपूर्ण हुने कतारले मंगलबार जनाएको छ । कतार अमेरिका–इरान वार्तामा प्रमुख मध्यस्थकर्तामध्ये एक हो ।
एएफपीका अनुसार फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरानबीच युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो । सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल तथा एलएनजी यही जलमार्गबाट ओसारपसार हुने गर्छ । जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समययता यसबाट हुने पानीजहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन् । इरानले प्रस्तावित मार्गको भौगोलिक अवस्थिति (कोअर्डिनेट) बारे दुवै पक्षबीच सहमति भएको जनाएको छ ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले भने, ‘हामी ओमान र इरानबीच जलसन्धिबारे हुने सम्झौताको प्रतीक्षामा छौँ, जसले हामीलाई वार्ता प्रक्रियामा फर्किन सक्षम बनाउनेछ ।’ उनले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरानबीचको वार्ता पुनः सुरु गर्न सहज बनाउने बताए । यसअघि जुनमा दुई देशबीच भएको समझदारीपत्र (एमओयू)जलसन्धि व्यवस्थापनसम्बन्धी विषयमा सहमति हुन नसकेपछि कार्यान्वयनमा आउन सकेको थिएन ।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेरी घलिबाफले मंगलबार अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेलगायत तेहरानका माग पूरा नगरेसम्म रणनीतिक जलमार्ग पुनः नखोलिने बताएका छन् । सोमबार इरानले वार्ता ‘गम्भीर ढङ्गले अघि बढिरहेको’ र संयुक्त वक्तव्यको मस्यौदाबारे विचार आदानप्रदान भइरहेको जनाएको थियो । इरानले हाल पानीजहाजलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अमेरिका र यस क्षेत्रका अन्य केही देशले उक्त व्यवस्थाको विरोध गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धिबारे इरानसँग हुने सम्झौतामा ओमानले अवरोध खडा गरेमा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न आत्मसमर्पण गर्नसमेत आह्वान गर्दै आएका छन् ।