काठमाडौँ, नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टमलाई लिंक्डइनसँग जोडेको छ । यसले नेपालमा रोजगारी दिने र लिने प्रक्रियालाई अझ सहज, छिटो र व्यवस्थित बनाउने कम्पनीले जनाएको छ ।
कुमारी जबमा हाल १० लाखभन्दा बढी जबसिकर दर्ता भएका छन् भने नेपालमा लिंक्डइन प्रयोग गर्ने झन्डै २७ लाख प्रयोगकर्ता छन् । यी दुवैलाई जोड्दा रोजगारदाताले ३७ लाखभन्दा बढी जबसिकरसम्म पहुँच पुर्याउन सक्नेछन् । यसले रोजगारदातालाई आवश्यक सीप र अनुभव भएका मानिस खोज्न र उनीहरूसँग सम्पर्क गर्न झन् सजिलो हुने कम्पनीको भनाइ छ ।
कुमारी जबको एटीएसबाट रोजगारदाताले जबसिकर खोज्ने, आवेदन हेर्ने, एआईले प्रारम्भिक छनोट गर्ने, उपयुक्त उम्मेदवारको सूची बनाउने, अन्तर्वार्ता मिलाउने र अन्तिम छनोट गरी रोजगारी दिनेसम्मको सबै काम एउटै ठाउँबाट गर्न सक्छन् । यसले धेरैजसो म्यानुअल काम घटाएर एचआर टिमलाई छिटो र सही निर्णय लिन सहयोग गर्ने कम्पनीले बताएको छ । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीका अनुसार रोजगारी दिने क्षेत्रमा प्रविधिको प्रयोग द्रूत गतिमा बढिरहेको छ । ‘कम्पनीहरूले उपयुक्त मानिस खोज्ने र छनोट गर्ने तरिका छिटो–छिटो फेरिँदै छ । सही मानिस भेट्टाउन र रोजगारी दिन प्रविधिको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ,’ उनले भने, ‘लिंक्डइनसँगको यो सहकार्य नेपालका व्यवसायलाई रोजगारी दिने प्रक्रिया अझ सहज र प्रभावकारी बनाउने दिशामा ठूलो कदम हो ।’
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई र गुगल जेमिनाईजस्ता एआई प्रविधि पनि जोडेको छ । यो प्रणालीले जबसिकरको प्रोफाइललाई सम्बन्धित जागिरको विवरण (जब डिस्क्रिप्सन) सँग तुलना गरेर सुरुमै छनौट गर्न सक्नेछ । साथै, जबसिकरको सीप, योग्यता, अनुभव र सम्बन्धित पदका लागि कत्तिको उपयुक्त छ भन्ने छोटो विवरण पनि एआईले नै तयार गरिदिन्छ । यसले हरेक सीभी हातैले हेर्नुपर्ने झन्झट घटाउँदै छिटो छनौट गर्न सहयोग गर्छ ।