काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीको सञ्चालन तथा धितोपत्र कारोबारबाट प्राप्त हुने रकमका लागि छुट्टाछुट्टै बैंक खाता प्रयोग गर्न निर्देशन दिएको छ । बोर्डको निरीक्षणका क्रममा केही दलाल व्यवसायीले सञ्चालन र ग्राहकको धितोपत्र कारोबारसँग सम्बन्धित सम्पूर्ण रकम एउटै बैंक खातामार्फत परिचालन गरेको पाइएपछि यस्तो निर्देशन दिइएको हो ।
सेबोनले प्रत्येक ग्राहकको कारोबारसँग सम्बन्धित हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ । धितोपत्र कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउन धितोपत्र व्यवसायीको कारोबारको नियमन तथा अनुगमन गर्ने अधिकार प्रयोग गर्दै बोर्डले निर्देशन जारी गरेको जनाएको छ ।
त्यसैगरी, प्रत्येक धितोपत्र दलाल व्यवसायीले महिनामा कम्तीमा एकपटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । ग्राहकका गुनासा प्रभावकारी रूपमा व्यवस्थापन गर्न प्रत्येक दलाल व्यवसायीले अनिवार्य रूपमा लगानीकर्ता गुनासो समाधान इकाइ गठन गरी कार्यप्रक्रिया तय गर्नुपर्नेछ । गुनासो समाधानसम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र बोर्डमा पेस गर्नुपर्ने छ ।
बोर्डले धितोपत्र कारोबारको टी+२ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । बोर्डको पछिल्लो निर्देशनले ग्राहकको रकमको पारदर्शिता, कारोबारको स्पष्ट अभिलेख र गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै धितोपत्र बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने अपेक्षा बोर्डले गरेको छ ।
यसैबीच बोर्डले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण समयमै पेस नगर्ने १५ वटा सूचीकृत कम्पनीको धितोपत्र कारोबार रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ तथा सूचीकृत कम्पनीले पालना गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार तोकिएको समयभित्र वार्षिक वित्तीय विवरण पेस नगरेका कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाईएको हो ।