काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड निकटका व्यक्तिको सम्पत्ति छानबिनको प्रयास गरेको छ ।
ओलीको स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान सुरु भएको स्रोतको दाबी छ ।
ओलीका स्वकीय सचिव राजेशलाई अख्तियारले केन्द्रीय कार्यालय टंगालमा बोलाएर सम्पत्ति विवरण भराए लगत्तै देउवाका स्वकीय सचिव भानुको सम्पत्तिको विस्तृत अनुसन्धानका लागि १३ पाना लामो फारम भराएको छ ।
उता गंगाको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ । गंगा र उनका पति जीवन आचार्यको पनि सम्पत्ति अनुसन्धान अघि बढेको छ । जीवन कोशी प्रदेशसभाका हालका सदस्य एवं सोही प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् । गंगाको छानबिनको क्रममा प्रचण्डको सम्पत्ति पनि खोतलीने बताइएको छ । सिन्धुलीमा चिनियाँ व्यवसायिक भैसी पालनको लगानीको विषयमा समेत प्रचण्ड र उनकी छोरीको सम्पत्तिको बारेमा प्रश्न उठेको छ ।
यस्तै, ओलीको स्वकीय बज्राचार्य र देउवाका स्वकीय भानुलाई पनि पद र शक्तिको निर्देशन तथा आडमा विभिन्न काण्ड गरेर सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ । आरोपको सत्यता भने छानबिनपछि मात्र पुष्टि हुने अख्तियार स्रोतको दाबी छ ।