काठमाडौं, कर्मचारी सञ्चयकोषको प्रमुख प्रशासकमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख प्रशासकका लागि सिफारिस भएका तीन जनामध्ये श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासक छनोटका लागि गठित समितिले श्रेष्ठसहित जीवनकुमार कटवाल र भरतराज वस्तीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले श्रेष्ठलाई कोषको नेतृत्व दिने निर्णय गरेको हो । श्रेष्ठ लामो समयदेखि कर्मचारी सञ्चयकोषमा कार्यरत छन् । उनी यसअघि कोषमा कायममुकायम सहप्रशासकको जिम्मेवारीमा थिए ।
कोषको प्रमुख प्रशासक पद जितेन्द्र धिताल पदमुक्त भएपछि रिक्त रहेको थियो । त्यसपछि नयाँ प्रमुख प्रशासक नियुक्तिका लागि छनोट प्रक्रिया अघि बढाइएको थियो । श्रेष्ठको नियुक्तिसँगै कर्मचारी सञ्चयकोषले नयाँ नेतृत्व पाएको छ ।