काठमाडौं, कृषिप्रधान देश नेपालमा आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामै करिब दुई अर्ब रुपैयाँको धान र चामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ९२ करोड बढीको धान र चामल भित्र्याएको नेपालले यस वर्षको सोही अवधिमा एक अर्ब ७८ करोड बढीको धान र चामल आयात गरेको हो ।
भन्सार विभागका अनुसार यस वर्ष धान र चामल आयात केही घटेको हो । ०८३ साउनमा नेपालले २४ हजार नौ सय टन धान चामल आयात गरेको छ । यस्तो परिमाण गत वर्षमा ५७ हजार ८३ टन थियो । नेपालमा बासमती, नकुटेको धान, कनिकाजन्य वस्तु आयात हुनेगरेका छन् । तीमध्ये धेरै भारतबाटै आयात हुने गरेको विभागले जनाएको छ ।
यस्तै नेपालले आर्थिक वर्षको पहिलो महिनामा तीन अर्ब ८७ करोडबराबरको स्मार्टफोन आयात गरेको छ । एक लाख ६९ हजार एक सय ८५ वटा स्मार्टफोन ३० दिनमै आयात भएको तथ्यांकले देखाएको छ । यसबाट सरकारले ७२ करोड ३५ लाख रुपैयाँ भन्सार संकलन समेत गरेको छ । नेपालमा साढे दुई अर्ब बढीको स्मार्टफोन चीनबाटै आएको पनि तथ्यांकले देखाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्यबराबरको वस्तु तथा सामान भित्रिएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालू आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो ।
गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत साउनको तुलनामा चालू आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ । गत आवको साउनमा भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।