नेपालमा लघुवित्त कार्यक्रमको प्रारम्भिक उद्देश्य ग्रामीण तथा विपन्न समुदायलाई औपचारिक वित्तीय सेवाको पहुँच उपलब्ध गराउनु थियो । बैंकिङ सेवाबाट वञ्चित वर्गलाई बचत, साना कर्जा तथा वित्तीय साक्षरतामार्फत आर्थिक गतिविधिमा सहभागी गराउने यस अभियानले विगत तीन दशकमा उल्लेखनीय सफलता हासिल गरेको छ । विशेषगरी महिलाको आर्थिक सशक्तीकरण, ग्रामीण वित्तीय समावेशीकरण तथा स्वरोजगार प्रवद्र्धनमा लघुवित्त संस्थाहरूको योगदान महत्वपूर्ण रह्यो । तर विश्वव्यापी आर्थिक परिवर्तन, प्रविधिको तीव्र विकास, ग्राहकको बदलिँदो आवश्यकता तथा नेपालको आर्थिक संरचनामा आएको परिवर्तनसँगै लघुवित्त क्षेत्र पनि नयाँ मोडमा आइपुगेको छ । आजको प्रमुख प्रश्न अब ’कति ऋण प्रवाह गरियो ?’ भन्ने होइन, ’ऋणले ग्राहकको आय, उत्पादन र जीवनस्तरमा कति परिवर्तन ल्यायो ?’ भन्ने हो ।
विश्वव्यापी अभ्यासअनुसार वित्तीय समावेशीकरणको वास्तविक उद्देश्य उत्पादनशील वित्तीय समावेशीकरण हो, जहाँ ऋणले ग्राहकको दिगो आम्दानी, उद्यमशीलता र रोजगारी सिर्जनामा योगदान पु¥याउँछ । त्यसैले लघुवित्त संस्थाहरू केवल ऋण प्रदायक नभई उद्यम विकासका साझेदारका रूपमा रूपान्तरण हुनुपर्छ । कृषि उत्पादनदेखि प्रशोधन, भण्डारण, ढुवानी, बजारीकरण र निर्यातसम्मको मूल्य श्रृंखला वित्तीय मोडेल विकास गरी किसान, सहकारी, प्राविधिक, उद्योग र बजारलाई जोड्न आवश्यक छ । यसले ग्राहकको आम्दानी र कर्जाको गुणस्तर दुवै सुधार गर्छ । साथै, वित्तीय सेवासँगै व्यवसाय छनोट, बजार अध्ययन, व्यवसाय योजना, जोखिम व्यवस्थापन र उद्यम सञ्चालनसम्बन्धी परामर्श उपलब्ध गराएर स्वरोजगार सिर्जनालाई प्राथमिकता दिनुपर्छ ।
विश्वका सफल लघुवित्त कार्यक्रमहरूको अध्ययन गर्दा अर्को महत्वपूर्ण पक्ष सीप विकाससँग जोडिएको वित्तीय सेवा हो । बंगलादेश, भारत, फिलिपिन्स र भियतनाममा धेरै लघुवित्त संस्थाहरूले ऋणसँगै व्यवसायिक तालिम, वित्तीय साक्षरता, कृषि प्रविधि, डिजिटल सीप तथा उद्यम व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् । अनुसन्धानहरूले देखाएका छन् कि केवल ऋण प्राप्त गरेका ग्राहकभन्दा ऋणसँगै सीप र परामर्श प्राप्त गरेका ग्राहकको व्यवसाय दिगो हुने सम्भावना उल्लेखनीय रूपमा बढी हुन्छ ।
नेपालमा पनि सिलाइ–कटाइ, खाद्य प्रशोधन, पशुपालन, आधुनिक कृषि, डिजिटल सेवा, पर्यटन, हस्तकला तथा स्थानीय स्रोतमा आधारित उद्यममा लगानी गर्ने ग्राहकलाई आवश्यक सीप र व्यवसाय विकास सेवा उपलब्ध गराउन सके लघुवित्तको सामाजिक प्रभाव धेरै गुणा बढ्न सक्छ । यसका लागि प्राविधिक तथा व्यावसायिक तालिम परिषद्, स्थानीय सरकार, कृषि अनुसन्धान केन्द्र, उद्योग तथा वाणिज्य संघ, निजी क्षेत्र र विकास साझेदारसँग सहकार्यको नयाँ मोडेल विकास गर्न सकिन्छ ।
लघुवित्त क्षेत्रको अर्को परिवर्तनकारी आयाम डिजिटल रूपान्तरण हो । विश्वभर वित्तीय सेवा तीव्र रूपमा डिजिटल माध्यममा रूपान्तरण भइरहेको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर भुक्तानी, बायोमेट्रिक प्रमाणीकरण, कृत्रिम बौद्धिकता, डेटा एनालिटिक्स तथा क्लाउड कम्प्युटिङले वित्तीय सेवाको स्वरूप नै परिवर्तन गरिरहेका छन् । नेपालमा पनि मोबाइल इन्टरनेट र डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा लघुवित्त संस्थाहरूले पनि परम्परागत बैठक, कागजी अभिलेख र नगद कारोबारमा आधारित प्रणालीबाट डिजिटल सेवा प्रणालीतर्फ रूपान्तरण हुनैपर्छ ।
डिजिटल प्रविधिले सञ्चालन खर्च घटाउने, ग्राहक सेवा छिटो बनाउने, जोखिम विश्लेषण सुधार्ने, बहु–ऋण नियन्त्रण गर्ने तथा पारदर्शिता बढाउने महत्वपूर्ण अवसर प्रदान गर्छ । तर डिजिटल रूपान्तरणका लागि मानव स्रोत विकास, साइबर सुरक्षा, डेटा गोपनीयता, डिजिटल वित्तीय साक्षरता तथा संस्थागत सोचमा समेत परिवर्तन आवश्यक हुन्छ । डिजिटल प्रणालीमा लगानी नगर्ने लघुवित्त संस्थाहरू भविष्यमा प्रतिस्पर्धात्मक रूपमा कमजोर हुने सम्भावना बढ्दै जानेछ ।
नेपालको लघुवित्त क्षेत्रको आगामी विकासलाई केवल कर्जा विस्तारको दृष्टिकोणबाट हेर्नु अब पर्याप्त छैन । जलवायु परिवर्तन, ग्रामीण अर्थतन्त्रको पुनर्संरचना, श्रमशक्तिको वैदेशिक पलायन, डिजिटल अर्थतन्त्रको विस्तार तथा दिगो विकासका विश्वव्यापी लक्ष्यले लघुवित्तको भूमिकालाई अझ व्यापक बनाइदिएको छ । त्यसैले अबको लघुवित्त ’कर्जा–केन्द्रित संस्था’ बाट ’विकास–केन्द्रित वित्तीय संस्था’ मा रूपान्तरण हुनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ ।
यस सन्दर्भमा हरित वित्त लघुवित्तको नयाँ कार्यक्षेत्र बन्न सक्छ । नेपालको अधिकांश ग्रामीण अर्थतन्त्र कृषि, वन, पानी तथा प्राकृतिक स्रोतमा निर्भर छ । तर जलवायु परिवर्तनका कारण कृषि उत्पादन, पशुपालन तथा ग्रामीण जीविकोपार्जनमा बढ्दो जोखिम देखिएको छ । लघुवित्त संस्थाहरूले जलवायु–अनुकूल कृषि, सौर्य ऊर्जा, बायोग्यास, सूक्ष्म सिँचाइ, वर्षा पानी संकलन, जैविक खेती तथा वातावरणमैत्री उद्यममा विशेष वित्तीय उत्पादन विकास गर्न सक्ने सम्भावना छ । यसले वातावरण संरक्षणसँगै ग्रामीण आय वृद्धि र दिगो आर्थिक विकासलाई पनि बल पुर्याउँछ ।
यसैगरी, महिला र युवा उद्यमशीलतालाई आगामी रणनीतिक प्राथमिकताका रूपमा लिन आवश्यक छ । नेपालको लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो उपलब्धि महिलाको वित्तीय पहुँच विस्तार हो । तर अब महिलालाई केवल ऋणीका रूपमा नभई उद्यमी, रोजगारदाता र स्थानीय आर्थिक नेतृत्वकर्ताका रूपमा विकास गर्ने लक्ष्य राख्नुपर्छ । महिला उद्यमका लागि व्यवसाय परामर्श, डिजिटल बजार पहुँच, ब्रान्डिङ, वित्तीय व्यवस्थापन तथा बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सके लघुवित्तको सामाजिक प्रभाव उल्लेखनीय रूपमा विस्तार हुन सक्छ ।
युवाहरूका लागि पनि लघुवित्तले नयाँ दृष्टिकोण अपनाउनुपर्ने देखिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा, कृषि क्षेत्रमा नवप्रवर्तन गर्न चाहने स्नातक, सूचना प्रविधिमा आधारित स्टार्टअप, पर्यटन, हस्तकला तथा सेवा क्षेत्रमा उद्यम गर्न चाहने युवालाई लक्षित विशेष वित्तीय उत्पादन, परामर्श र व्यावसायिक नेटवर्किङ आवश्यक छ । यसले लघुवित्तलाई ग्रामीण विकासको मात्र होइन, स्थानीय उद्यम विकासको प्रमुख साझेदार बनाउनेछ ।
आज विश्वभर वित्तीय संस्थाहरू वातावरणीय, सामाजिक र सुशासन अवधारणालाई आफ्नो व्यवसायिक रणनीतिसँग जोडिरहेका छन् । नेपालका लघुवित्त संस्थाहरूले पनि वातावरणीय उत्तरदायित्व, सामाजिक समावेशिता र संस्थागत सुशासनलाई आफ्नो दीर्घकालीन रणनीतिमा समावेश गर्नुपर्ने समय आएको छ । भविष्यमा लगानीकर्ता, विकास साझेदार तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि वातावरणीय, सामाजिक र सुशासन मापदण्डलाई बढ्दो प्राथमिकता दिने निश्चित छ । त्यसैले यस दिशामा समयमै तयारी गर्नु लघुवित्त क्षेत्रका लागि रणनीतिक आवश्यकता हो ।
डिजिटल रूपान्तरणको अर्को महत्वपूर्ण पक्ष डेटामा आधारित निर्णय प्रणाली हो । विगतमा अधिकांश निर्णय अनुभव र अनुमानका आधारमा हुने गर्थे । अब ग्राहकको आम्दानी, कारोबार, बचत व्यवहार, भुक्तानी इतिहास, व्यवसायको सम्भाव्यता तथा बजार प्रवृत्तिको विश्लेषणका आधारमा कर्जा निर्णय गर्नुपर्ने आवश्यकता बढेको छ । कृत्रिम बौद्धिकता, डेटा एनालिटिक्स तथा डिजिटल ग्राहक प्रोफाइलिङको प्रयोगले जोखिम न्यूनीकरण, सेवा गुणस्तर सुधार तथा सञ्चालन लागत नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
यससँगै डिजिटल वित्तीय साक्षरता पनि उत्तिकै आवश्यक छ । ग्राहकले डिजिटल सेवा प्रयोग गर्न नसके प्रविधिमा गरिएको लगानी प्रभावकारी हुँदैन । त्यसैले मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, साइबर सुरक्षासम्बन्धी सचेतना तथा डिजिटल वित्तीय व्यवहारलाई लघुवित्त संस्थाको नियमित कार्यक्रम बनाइनुपर्छ । डिजिटल समावेशीकरण विना भविष्यको वित्तीय समावेशीकरण पूर्ण हुन सक्दैन ।
अर्को महत्वपूर्ण कार्यदिशा साझेदारीमा आधारित विकास हो । अब कुनै एक संस्थाले मात्र ग्राहकको आर्थिक रूपान्तरण सम्भव बनाउन सक्दैन । लघुवित्त संस्थाहरूले स्थानीय सरकार, सहकारी संस्था, कृषि अनुसन्धान केन्द्र, प्राविधिक तालिम प्रदायक, उद्योग–वाणिज्य संघ, विश्वविद्यालय, निजी क्षेत्र तथा डिजिटल सेवा प्रदायकसँग सहकार्य गर्दै एकीकृत ग्रामीण विकास मोडेल विकास गर्नुपर्ने आवश्यकता छ । यस्तो सहकार्यले वित्तीय सेवा, प्राविधिक ज्ञान, बजार पहुँच, उत्पादन प्रवर्द्धन र उद्यम विकासलाई एउटै प्रणालीमा जोड्न सक्छ ।
यस्तै, प्रभाव–आधारित मूल्यांकनको अभ्यासलाई पनि संस्थागत बनाउन आवश्यक छ । अब लघुवित्त संस्थाको सफलताको मापन केवल कर्जा पोर्टफोलियो, नाफा वा ग्राहक संख्याबाट होइन; ग्राहकको आयमा भएको वृद्धि, सिर्जित रोजगारी, गरिबी न्यूनीकरण, महिला नेतृत्व विकास, दिगो उद्यमको संख्या तथा स्थानीय आर्थिक गतिविधिमा परेको प्रभावबाट गरिनुपर्छ । सामाजिक प्रभाव मापन गर्ने सूचकहरूलाई वार्षिक प्रतिवेदन र संस्थागत रणनीतिमा समावेश गर्नुपर्ने समय आएको छ ।
नेपालको लघुवित्त क्षेत्रले वित्तीय समावेशीकरणको पहिलो चरण सफलतापूर्वक पार गरिसकेको छ । अब दोस्रो चरणको सुधारमा प्रवेश गर्ने समय आएको छ । आगामी दशकमा सफल हुने लघुवित्त संस्था ती हुनेछन्, जसले ऋण वितरणलाई अन्तिम लक्ष्य होइन, ग्राहकको आर्थिक रूपान्तरणको माध्यम बनाउनेछन् । मूल्य श्रृंखलामा आधारित लगानी, सीप विकाससँग जोडिएको वित्तीय सेवा, डिजिटल प्रविधिको प्रभावकारी उपयोग, हरित वित्त, युवा तथा महिला उद्यमशीलताको प्रवद्र्धन र संस्थागत नवप्रवर्तनलाई आत्मसात् गर्न सक्ने संस्थाहरूले मात्र बदलिँदो आर्थिक परिवेशमा आफ्नो सान्दर्भिकता कायम राख्न सक्नेछन् ।
नेपालको ग्रामीण अर्थतन्त्र आज रूपान्तरणको चरणमा छ । यस रूपान्तरणको विश्वसनीय साझेदारका रूपमा लघुवित्त संस्थाहरूले आफ्नो परम्परागत भूमिकाभन्दा धेरै फराकिलो सोच, नवीन व्यवसायिक मोडेल र परिणाममुखी रणनीति अपनाउन सके भने उनीहरू केवल वित्तीय सेवा प्रदायकमा सीमित रहने छैनन्; स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र समावेशी समृद्धिका प्रमुख उत्प्रेरकका रूपमा स्थापित हुनेछन् । ग्राहकको आर्थिक रूपान्तरणलाई व्यवसायिक सफलताको मुख्य सूचक बनाउने लगायतका वित्तीय तथा गैर–वित्तीय रुपान्तरणका लागि आगामी कार्यदिशा तय गर्न अपरिहार्य भएको छ । यही नै नेपालको लघुवित्त क्षेत्रको आगामी कार्यदिशा र दिगो भविष्यको आधार हो । (लेखक लघुवित्त समाज नेपालका महासचिव हुन् ।)