नेपाली काँग्रेसभित्रको चर्किँदो विवादलाई सतहमा केवल पद, प्रतिष्ठा, टिकट वा केही नेताबीचको गुटगत प्रतिस्पर्धाका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यो द्वन्द्व काँग्रेसको राजनीतिक संस्कार, संस्थागत लोकतन्त्रको क्षमता र पुस्तान्तरणको अनिवार्यतासँग जोडिएको गम्भीर प्रश्न हो । पार्टी हाल एउटा ऐतिहासिक मोडमा उभिएको छ, जहाँ दुई राजनीतिक प्रवृत्तिबीचको टकराव स्पष्ट देखिन्छ—एकातिर व्यक्तिको प्रभाव र पुरानो शक्ति–समीकरणबाट अघि बढ्ने मानसिकता, अर्कोतिर विधि, विचार र बदलिँदो समयको मागलाई आत्मसात् गर्ने दबाब । यस द्वन्द्वको जरामा पार्टीको भविष्यको दिशा र नेतृत्वको मूल स्वरूपसम्बन्धी अन्योल छ ।
काँग्रेसको वर्तमान परिस्थितिलाई नियाल्दा एउटा व्यङ्ग्यात्मक टिप्पणी सुनिन्छ—‘टिकट पाउँदा गगन राम्रो, अवसर गुमेपछि रोइलो ।’ तर यस टिप्पणीलाई व्यक्तिविशेषको पक्ष वा विपक्षमा मात्र सीमित गर्नु अन्याय हुनेछ । बरु, यसले हाम्रो राजनीतिक संस्कारको गहिरो कमजोरीतिर औँला देखाउँछ—अनुकूलता र प्रतिकूलतामा सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति । आफूलाई अनुकूल हुँदा संस्थागत निर्णय स्वीकार गर्ने र प्रतिकूल हुँदा त्यही संस्थामाथि प्रश्न उठाउने दोहोरो मापदण्ड कुनै पनि लोकतान्त्रिक दलको दीर्घकालीन सुदृढीकरणका लागि घातक हुन्छ । असहमति लोकतन्त्रको प्राण हो, तर यसको समाधान विधि, संवाद र संस्थागत प्रक्रियाबाट नै खोजिनुपर्छ ।
अहिलेको परिस्थितिमा निर्वाचन आयोगबाट स्थापित राजनीतिक–वैधानिक यथार्थ र न्यायिक प्रक्रियामा विकसित पछिल्लो अवस्थालाई सबै पक्षले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्छ । सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढेको भए पनि त्यसलाई राजनीतिक असहमतिको अनन्त आधार बनाउनु उचित हुँदैन । कानुनी प्रक्रियामा चित्त नबुझे सम्बन्धित पक्षले संवैधानिक बाटो रोज्न सक्छ; तर अदालतको प्रक्रियालाई सम्मान गर्दै पार्टीको राजनीतिक जीवनलाई अनिश्चितताको बन्दी बनाइरहनु लोकतान्त्रिक परिपक्वता होइन । विशेष महाधिवेशनबाट स्थापित राजनीतिक यथार्थलाई अस्वीकार गर्दै निरन्तर समानान्तर शक्ति–केन्द्र निर्माण गर्नुको सट्टा अब काँग्रेसले विधिसम्मत प्रक्रियाबाट आफ्नो आगामी महाधिवेशनतर्फ अघि बढ्नु आवश्यक छ ।
यस संक्रमणकालमा वरिष्ठ नेताहरूको भूमिका अझ महत्त्वपूर्ण बन्छ । लामो राजनीतिक जीवन बिताएका नेताहरूको अनुभव पार्टीका लागि अमूल्य सम्पत्ति हो । तर अब त्यस अनुभवको सर्वोत्तम उपयोग शक्ति–केन्द्रको निरन्तर प्रतिस्पर्धामा होइन, अभिभावकीय भूमिकामा हुनुपर्छ । वरिष्ठ हुनुको अर्थ सधैं नेतृत्वको केन्द्रमा रहिरहनु मात्र होइन; आफूले निर्माण गरेको संस्थालाई आफूभन्दा पछिल्लो पुस्ताको जिम्मामा सुरक्षित रूपमा हस्तान्तरण गर्न सक्नु पनि वरिष्ठताको उच्चतम परीक्षा हो ।
हिजोको पुस्ताले लोकतन्त्रका लागि संघर्ष गर्यो, संगठन निर्माण गर्यो र अनेक उतारचढावबीच काँग्रेसलाई जोगायो । त्यस योगदानको सम्मान हुनैपर्छ । तर त्यसको अर्थ नयाँ पुस्ताले नेतृत्व गर्ने बाटो सधैं रोकिरहनुपर्छ भन्ने होइन । नयाँ पुस्तालाई ठाउँ दिनु पुरानो पुस्ताको अपमान होइन, बरु उनीहरूको योगदानलाई इतिहासमा सुरक्षित गर्ने सबैभन्दा सभ्य तरिका हो । आजको काँग्रेसलाई अनुभव र ऊर्जाको टकराव होइन, तिनको संयोजनको खाँचो छ । वरिष्ठ नेताले मार्गदर्शन गर्ने र नयाँ पुस्ताले जिम्मेवारी वहन गर्ने वातावरण बन्न सके पुस्तान्तरण पनि सहज हुन्छ र संस्थाको निरन्तरता पनि सुरक्षित रहन्छ ।
आज भइरहेका राष्ट्रिय भेला र शक्ति–प्रदर्शनले काँग्रेसभित्रको अर्को प्रश्न पनि सतहमा ल्याएको छ—एकता कस्तो? यदि एकताको अर्थ पुरानै शक्ति–समीकरणलाई जस्ताको तस्तै जोगाउनु हो भने त्यो एकता होइन, यथास्थितिको संरक्षण मात्र हो । साँचो एकता भनेको फरक मतलाई सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनु, वरिष्ठ पुस्ताको अनुभवलाई अभिभावकीय भूमिकामा उपयोग गर्नु र पार्टीलाई विधि तथा संस्थाको आधारमा अघि बढाउनु हो ।
जेन–जी आन्दोलनले नेपाली राजनीतिलाई एउटा कठोर ऐना देखायो । त्यस आन्दोलनका क्रममा धेरै नेता तथा कार्यकर्ताले कुटाइ र असुरक्षाको सामना गर्नुप¥यो, घरमा आगजनी भयो र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि सडकमा विस्फोट भयो । त्यो केवल सुरक्षा वा कानुन–व्यवस्थाको घटना मात्र थिएन; पुरानो राजनीतिक संस्कारप्रति समाजमा बढ्दै गएको वितृष्णाको गम्भीर संकेत थियो ।
त्यो बेला पार्टीका नेता र कार्यकर्ताहरू संकटमा थिए । तर त्यो संकटले पद, टिकट र गुटभन्दा ठूलो प्रश्न खडा ग¥यो—जनता र राजनीतिक दलबीचको दूरी किन बढ्यो? त्यस घटनाबाट पाठ सिकेर काँग्रेसले आफूलाई नयाँ पुस्ताको अपेक्षा, प्रविधि, राजनीतिक चेतना र सामाजिक परिवर्तनअनुकूल रूपान्तरण गर्नुपर्ने थियो । तर यदि संकटपछि पनि पार्टीभित्र पुरानै शक्ति–समीकरण, आरोप–प्रत्यारोप र नेतृत्वको रस्साकस्सी मात्र दोहोरिन्छ भने त्यसले त्यो चेतावनीलाई गम्भीरतापूर्वक नबुझेको प्रमाणित गर्नेछ ।
अझ, जुन बेला पार्टी र नेताहरू संकटमा थिए, त्यतिबेला कहाँ थिए ती राजनीतिक पात्रहरू, जो आज फेरि नेतृत्वको वरिपरि नयाँ समीकरण बुन्न वा पार्टी फुटाउनेसम्मको भाषा बोलिरहेका छन्? संकटमा पार्टी जोगाउनेभन्दा अवसरमा आफ्नो स्थान खोज्ने राजनीतिलाई कार्यकर्ताले अब कति स्वीकार गर्लान्? यो प्रश्न काँग्रेसभित्रै गहिरोसँग उठ्न थालेको छ ।
काँग्रेसको इतिहासमा विभाजन नयाँ विषय होइन, तर इतिहासले अर्को कुरा पनि सिकाएको छ—पार्टी फुटाउनुभन्दा पार्टीभित्रको समस्या समाधान गर्न धेरै ठूलो राजनीतिक धैर्य र परिपक्वता चाहिन्छ । पार्टी विभाजन गर्दा नेताहरू अलग हुन सक्छन्, तर कार्यकर्ताबीचको दशकौँ पुरानो सम्बन्ध, जनविश्वास र संगठनात्मक संरचना पुनर्निर्माण गर्न अत्यन्त कठिन हुन्छ । त्यसैले असहमति भएकै कारण विभाजनको धम्की दिनु राजनीतिक परिपक्वताको परिचय होइन ।
आज काँग्रेसभित्र फरक विचार राख्ने अधिकार सबैलाई हुनुपर्छ । नेतृत्वमाथि प्रश्न उठाउने अधिकार पनि लोकतन्त्रले सुरक्षित गरेको छ । तर त्यो अधिकारसँगै संस्थालाई जोगाउने जिम्मेवारी पनि आउँछ । पार्टीभित्र असन्तुष्ट हुनेहरूलाई सुन्नुपर्छ, असहमतिलाई सम्मान गर्नुपर्छ र नेतृत्वलाई खबरदारी गर्नुपर्छ; तर समाधान पार्टी बाहिर होइन, पार्टीभित्रै खोजिनुपर्छ ।
पुस्तान्तरणको आवश्यकता स्वीकार्नुको अर्थ नयाँ पुस्तालाई आलोचनामुक्त बनाउनु होइन । नयाँ पुस्ताले पनि आफूहरू पुरानो राजनीतिक शैलीकै नयाँ अनुहार मात्र नभएको प्रमाणित गर्नुपर्छ । किनभने नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तन होइन; राजनीतिक संस्कार परिवर्तन नै वास्तविक पुस्तान्तरण हो ।
निर्णय प्रक्रिया पारदर्शी बनाउने, फरक मतलाई सम्मान गर्ने, संगठनमा योगदानको मूल्यांकन गर्ने, योग्य र जनस्वीकार्य व्यक्तिलाई अवसर दिने तथा कार्यकर्तालाई चुनावी गणितको मात्र साधन नठान्ने संस्कृति विकास गर्न सकेमा मात्र नयाँ नेतृत्वको औचित्य स्थापित हुन्छ । आज काँग्रेसभित्र नयाँ पुस्ताप्रति देखिएको आकर्षणलाई केवल एउटा नेताको लोकप्रियताका रूपमा बुझ्नु अधुरो हुनेछ । त्यसको पछाडि पुरानो शैलीबाट दिक्क भएको पुस्ताको परिवर्तनप्रतिको ठूलो अपेक्षा पनि छ ।
यही सन्दर्भमा गगन थापाको राजनीतिक यात्रालाई केवल व्यक्तिको महत्वाकांक्षाका रूपमा हेर्नु पनि उचित हुँदैन । नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने बहस, पार्टीलाई नयाँ राजनीतिक संस्कारतर्फ लैजाने अपेक्षा र बदलिँदो पुस्ताको आकांक्षा—यी सबैको संगमका रूपमा उनको नेतृत्वको प्रश्न अगाडि आएको छ । तर नयाँ नेतृत्वले पनि आफूलाई प्राप्त अवसरलाई व्यक्तिगत शक्ति विस्तारमा होइन, संस्थागत पुनर्निर्माणमा प्रयोग गर्नुपर्छ । त्यहीँबाट उसको वास्तविक परीक्षा सुरु हुन्छ ।
काँग्रेसलाई अहिले अर्को गुट, अर्को उपगुट वा अर्को समानान्तर शक्ति–केन्द्र आवश्यक छैन; काँग्रेसलाई नयाँ राजनीतिक संस्कारको खाँचो छ । वरिष्ठ नेताहरू अभिभावक बनून्, नयाँ पुस्ताले जिम्मेवारी पाओस्, असहमति संवादमा रूपान्तरण होस्, निर्णय व्यक्तिको इच्छाभन्दा संस्थाको विधिबाट होस्, योग्यता, योगदान र जनविश्वासले अवसर निर्धारण गरोस् र पार्टीभित्रको प्रतिस्पर्धा पदका लागि मात्र होइन, नीति र विचारको श्रेष्ठताका लागि होस् ।
काँग्रेसको पुनर्जागरण कुनै एक नेताको विजय र अर्को नेताको पराजयबाट सम्भव हुँदैन । पुरानो पुस्ताको सम्मान जोगाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु नै परिपक्व पुस्तान्तरण हो । कुनै नयाँ नेतृत्व सफल हुनुको अर्थ वरिष्ठ पुस्ता असफल हुनु होइन; बरु वरिष्ठ पुस्ताले आफ्नो अनुभव नयाँ नेतृत्वलाई हस्तान्तरण गर्न सक्नु नै उसको राजनीतिक सफलताको प्रमाण हो ।
त्यसैले अहिले काँग्रेसले व्यक्तिको पक्ष–विपक्षभन्दा माथि उठेर समयको आवाज सुन्नुपर्छ । निर्वाचन आयोगबाट स्थापित यथार्थ र न्यायिक प्रक्रियामा विकसित पछिल्लो अवस्थालाई सम्मान गर्दै विशेष महाधिवेशनबाट बनेको नयाँ राजनीतिक अवस्थालाई आत्मसात् गर्नु, सबै पक्षलाई समेटेर अघि बढ्नु र पार्टीलाई पुनः जनविश्वासको केन्द्र बनाउनु नै आजको प्रमुख आवश्यकता हो ।
जेन–जी आन्दोलनले दिएको चेतावनी पनि बिर्सन मिल्दैन । जनताले केवल नेता परिवर्तन मात्र होइन, राजनीतिक व्यवहार र संस्कारको परिवर्तन खोजेका हुन् । अब काँग्रेसले विगतको हिसाबमा अल्झिरहने कि भविष्यको परीक्षा दिने—निर्णय गर्नुपर्ने समय यही हो ।
अन्ततः प्रश्न ‘को जित्यो?’ भन्ने होइन । प्रश्न हो—‘काँग्रेस आफैं जित्यो कि हार्यो?’
किनकि लोकतान्त्रिक राजनीतिमा अवसर आउँदा प्रशंसा र अवसर गुम्दा गुनासो गर्नु नेतृत्वको परिचय होइन । अनुकूलता र प्रतिकूलता दुवैमा विधि, विचार र सिद्धान्तमा अडिन सक्नु नै राजनीतिक निष्ठाको वास्तविक परीक्षा हो ।
आगामी दिनमा काँग्रेसले यो परीक्षामा कति सफल हुन्छ, त्यसले पार्टीको भविष्यसँगै नेपाली लोकतान्त्रिक राजनीतिमाथि पनि गहिरो प्रभाव पार्नेछ ।