काठमाडौं, कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल ( पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको हो ।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा खुलासा गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने जनाएको छ । यसले बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
बैंकका अनुसार पीसीएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा हो । वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जन बुझ्न सकेमा जलवायु रणनीति सुदृढ बनाउन, पारदर्शिता बढाउन तथा तथ्यमा आधारित वित्तीय निर्णय लिन सहयोग पुग्ने बैंकको भनाइ छ ।
कुमारी बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ । पीसीएएफ सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको विश्वव्यापी पहल हो । हाल छ सय भन्दा बढी वित्तीय संस्था यस पहलमा आबद्ध भइसकेका छन् । सहभागी संस्थाहरूले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा खुलासा गर्न साझा विश्वव्यापी मापदण्ड प्रयोग गर्छन् ।