काठमाडौं, कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईआरडी इनिसिएटिभ प्रोग्राम (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
यो सुविधामार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारहरूको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत सजिलै हेर्न सक्नेछन् । यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्ये बाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टी पश्चात् १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन, भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन । कुमारी बैंकले ग्राहकहरूलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
बैंकले हाल देशभर फैलिएका दुई सय ८५ वटा शाखा, ४१ विस्तार काउन्टर, तीन सय दुईवटा एटीएम, ४० शाखारहित बैंकिङ्ग इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ्ग पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासहित बैंकले शहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै आएको छ ।