तेहरान, इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ । इरान र अमेरिकाबीच जारी युद्धका बीच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने संकेत गरेको छ ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कारबाहीमा सहभागितासरह हुने बताउनुभएको मेहर समाचार एजेन्सीले जनाएको छ । उनले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो संख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताए । त्यसैले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकहरूलाई अवस्थाबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको उनले चेतावनी दिए ।
अब्दोलाहीले अमेरिकी सेनालाई सहयोग गर्नु वा अमेरिकी सैन्य गतिविधिका लागि सुविधा उपलब्ध गराउनु इरानविरुद्धको कारबाहीमा प्रत्यक्ष संलग्नताका रूपमा लिइने स्पष्ट पारे । उनको चेतावनी विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा तिनको प्रयोगसँग सम्बन्धित देखिएको छ । इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी छ । इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको बताइएको छ ।