नयाँदिल्ली, भारत र बंगलादेशबीच कूटनीतिक अनिश्चितता कायम रहे पनि दुवै देशका व्यवसायीहरूले व्यापार, लगानी र उत्पादनका क्षेत्रमा सहकार्य विस्तार गरी आर्थिक सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण आधार बनाउन सकिने बताएका छन् । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला व्यवसायीहरूको पछिल्लो सक्रियताले आर्थिक सम्बन्धमार्फत दुई देशबीचको दूरी कम गर्न सकिने सम्भावना देखाएको छ ।
भारतीय उद्योग परिसङ्घ (सीआइआई) को एक प्रतिनिधिमण्डलले हालै बंगलादेशको भ्रमण गरी सरकारका मन्त्री तथा बंगलादेशी व्यापारिक समुदायका प्रतिनिधिसँग छलफल गरेको थियो । भेटवार्तापछि भारतीय व्यवसायीहरूले बंगलादेशसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्ने र विभिन्न क्षेत्रमा लगानीका अवसर खोज्ने इच्छा व्यक्त गरेका छन् । सीआइआई प्रतिनिधिमण्डलका प्रमुख चन्द्रजित बनर्जीले भारतबाट विभिन्न क्षेत्रका बलिया व्यावसायिक प्रतिनिधि बंगलादेश आएको बताए । उनका अनुसार प्रतिनिधिमण्डलमा बंगलादेशमा लगानी गरिरहेका तथा भारत–बंगलादेशबीच आयात–निर्यात गर्दै आएका व्यवसायी सहभागी थिए । इन्जिनियरिङदेखि स्वास्थ्य सेवासम्मका विभिन्न क्षेत्रका प्रतिनिधि टोलीमा रहेको उनले बताए ।
सीआइआईले बंगलादेशसँग व्यापार–व्यापार सम्पर्कलाई निरन्तरता दिँदै भविष्यमा विभिन्न क्षेत्रका छुट्टाछुट्टै प्रतिनिधिमण्डल बंगलादेश पठाउने योजना बनाएको छ । बनर्जीका अनुसार पूर्वाधार र भविष्यका प्रविधि सहकार्यका लागि प्राथमिक क्षेत्रका रूपमा अघि बढाइनेछ । दुवै देशका व्यवसायबीच नियमित संवाद र क्षेत्रगत सहकार्य विस्तार गर्न कार्यदल गठन गर्ने तयारीसमेत रहेको उनले बताए ।
बंगलादेशी व्यवसायीहरूले पनि भारतसँगको सम्बन्धलाई केवल आयात–निर्यातमा सीमित नगरी प्रत्यक्ष लगानी र उत्पादन विस्तारतर्फ लैजानुपर्नेमा जोड दिएका छन् । बंगलादेश फरेन इन्भेस्टर्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की) की अध्यक्ष रुपाली हक चौधरीले भारत ठूलो अर्थतन्त्र भएकाले बंगलादेशमा भारतीय लगानी विस्तारका लागि पर्याप्त सम्भावना रहेको बताए ।
उनले भारतीय व्यवसायीलाई बंगलादेशमा कारखाना तथा उत्पादन केन्द्र स्थापना गर्न आग्रह गरिएको जानकारी दिए । लगानीसँगै प्रविधि र ज्ञान भित्र्याउँदा बंगलादेशका युवा पुस्ताले नयाँ प्रविधि सिक्ने अवसर पाउने र दुवै देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास हुने उनको भनाइ छ । चौधरीले दुई देशबीच जनता–जनताबीचको सम्बन्धसँगै आर्थिक सहकार्यलाई पनि बलियो बनाउनुपर्ने बताए । उनका अनुसार दुवै देशले एकअर्काको बजार, प्रविधि, लगानी र उत्पादन क्षमताबाट लाभ लिन सक्ने गरी सहकार्य अघि बढाउन आवश्यक छ ।
यसैबीच, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको पहिलो भारत भ्रमण गराउने विषयमा दुवै देशका अधिकारीबीच केही सातादेखि छलफल भइरहेको छ । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको विषयले द्विपक्षीय सम्बन्धमा जटिलता थपिएको संकेत गरेको भए पनि भारत भ्रमण हुने अपेक्षामा रहेको छ ।
प्रधानमन्त्री रहमान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने सम्भावित भेटले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनुका साथै व्यापार, लगानीलगायत लामो समयदेखि विचाराधीन द्विपक्षीय विषयमा छलफल गर्ने अवसर प्रदान गर्न सक्ने अपेक्षा गरिएको एएनआई्ले उल्लेख गरेको छ ।